काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ)लाई निलम्बन गरेपछि गोकुलम केरला एफसीको महिला टोली उज्बेकिस्तानस्थित तास्कन्दमा फसेको छ।
फिफाको निलम्बकनका कारण नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित गोकुलम केरलालाई महिला क्लब च्याम्पियनसिप खेल्नबाट रोक लगाइएको छ।
टोलीले बुधबार प्रधानमन्त्री नरेन्द्र मोदी र खेलकुदमन्त्री अनुराग ठाकुरलाई ट्वीटरमार्फत् सहयोगको अपील गरेको छ। गोकुलम केरलाले ट्वीट गरेको छ– ‘हाम्रो क्लबका २३ महिला खेलाडीहरू अहिले तास्कन्दमा फसेका छन्, हाम्रो कुनै दोष छैन। हामी एएफसी महिला च्याम्पियनसिपमा सहभागी हुन चाहन्छौं। त्यसैले प्रधानमन्त्री मोदी र अनुराग ठाकुरलाई यस मामिलामा तुरुन्त हस्तक्षेप गर्न आग्रह गर्छौं।’
उज्बेकिस्तानमा हुने पश्चिम क्षेत्रको समूह चरणको खेल अगस्ट २० देखि २६ सम्म हुने तालिका तय छ। भारतको च्याम्पियन गोकुलम केरलासँगै यस समूहमा उज्बेकिस्तानको सोग्दियाना, जोर्डनको अर्थडक्स क्लब र इरानको क्लब खातुन बाम एफसी रहेका थिए।
गोकुलम केरला सोमबार मात्रै यस प्रतियोगितामा सहभागिता जनाउन उज्बेकिस्तान पुगेको थियो। ‘हाम्रो टोली अगस्ट १६, २०२२ मा कोझिकोडबाट उज्बेकिस्तानको तास्कन्द पुगेको थियो। तास्कन्दमा आइपुगेपछि हामीले विभिन्न मिडिया आउटलेटहरूमार्फत सुन्यौं फिफाले एआईएफएफलाई प्रतिबन्ध लगाएको थाहा पायौं। प्रतिबन्धसँगै हामीले महिला च्याम्पियनसिप खेल्न नपाउने थाहा पायौं,’ ट्वीटमा भनिएको छ।
फिफाले तेस्रो पक्षको हस्तक्षेपका कारण एआईएफएफलाई निलम्बन गरेको हो। एआईएफएफले आफ्नो ८५ वर्षको इतिहासमा पहिलो पटक फिफाबाट निलम्बन भोगेको छ। यो निलम्बन जारी रहेसम्म भारतको महिला र पुरुष फुटबल टोलीले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्न पाउने छैनन्। साथै, भारतीय खेलाडीले अन्य कुनै पनि देशको लिगमा भाग लिन पाउने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।