काठमाडौं– बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको औपचारिक प्रशिक्षण शुक्रबार सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहका अनुसार कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईं बिहीबार नेपाल आएसँगै शुक्रबारबाट औपचारिक प्रशिक्षण गर्न लागिएको हो।
हुमागाईं अमेरिकामा बस्दै आएका थिए। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अनुपस्थितिमा हुमागाईंलाई एन्फाले कार्यवाहक प्रशिक्षक नियुक्त गरेको हो।
‘बन्द प्रशिक्षण नै सुरु गर्न लागेको होइन। तर, छनोटमा परेका ४० खेलाडीलाई बुधबार दिउँसो २:०० बजे सम्पर्कका लागि डाकिएको छ। भोलि (बिहीबार) अनौपचारिक रुपमा प्रशिक्षण सुरु हुन्छ,’ प्रवक्ता शाहले नेपाल लाइभसँग भने।
उनका अनुसार बन्द प्रशिक्षणको लागि एन्फाले जंङ्गी अड्डास्थिति आर्मी अफिसर क्लबको मैदान लिएको छ। सोही मैदानमा खेलाडीलाई प्रशिक्षण दिइने प्रवक्ता शाहले बताए।
‘दशरथ रंगशालामा महिला साफ प्रतियोगिता हुँदैछ। त्यसैले त्यो मैदान बूक हुनेछ। यता, एन्फाको मैदान पनि साफमा सहभागी हुने टोलीको प्रशिक्षणका लागि दिइने छ। त्यसैले आर्मीको मैदानलाई हामीले लिएका छौं। त्यहीँ बन्द प्रशिक्षण सुरु गर्ने छौं,’ उनले भने।
राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा बोलाईका ४० खेलाडी:
गोलरक्षक– किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर– अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ
मिडफिल्डर– संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट
फरवार्ड– विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।