काठमाडौं– साविक विजेता भारत आगामी महिना नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा सहभागी हुन नपाउने भएको छ। मंगलबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा बाहिरी शक्ति हावी भएको भन्दै अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ।
फिफाको यस निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्ने छैन। भारतका क्लबले पनि एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्। भदौ २१ देखि असोज ३ सम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा अब ६ टोलीले मात्र भाग लिनेछन्।
नेपालमा लगातार दोस्रो पटक महिला साफ हुन लागेको हो। यसअघि सन् २०१९ मा विराटनगरमा महिला साफ भएको थियो। प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ। नेपाल रहेको समूह ‘बी’मा भुटान र श्रीलंका छन्। नेपालले हालसम्म साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानविरुद्ध सबै खेलमा जित्दै आएको छ।
समूह ‘ए’ मा पाकिस्तान, माल्दिभ्स र बंगलादेश छन्। यो समूहमा भारत पनि रहेको थियो। भारत बाहिरिएपछि यस समूहमा अब बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहने छन्। भारत बाहिरिसँगै पहिलाको भन्दा अब च्याम्पियनसिपमा ३ खेल कम गरी ९ खेल मात्र हुनेछ।
समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। त्यस आधारमा समूह चरणमा ६ खेल तथा २ सेमिफाइनल र फाइनल खेल हुनेछ। साफले अब खेल तालिका भने संशोधन गर्ने छ।
कुमार थापाको मुख्य प्रशिक्षणमा नेपाली टोलीले च्याम्पियनसिपको तयारी गरिरहेको छ। पहिलो चरणमा ५८ खेलाडी छनोट भएका थिए। अहिले ३५ खेलाडीले प्रशिक्षण गरिरहेका छन्। हालसम्म ५ संस्करणमध्ये नेपाल ४ पटक फाइनलमा भारतसँग पराजित भएको छ।
सन् २०१५ मा भने नेपाल भारतसँग सेमिफाइनलमा रोकिएको थियो। भारत नहुँदा नेपाल टोली च्याम्पियन बन्ने सम्भावना बलियो भएको छ। त्यस्तै, श्रीलंकामा हुने साफ यू–१७ च्याम्पियनसिपमा पनि अब भारतले सहभागिता जनाउने छैन।
उक्त प्रतियोगितामा नेपाल र भारत एकै समूहमा थिए। भारत नखेल्ने भएसँगै अब प्रतियोगिता ‘राउन्ड रोबिन’ पद्दतिमा हुनेछ। प्रतियोगितामा आयोजक श्रीलंका, नेपाल, माल्दिभ्स, बंगलादेश र भुटान खेल्नेछन्। प्रतियोगिता ५ देखि १४ सेप्टेम्बरमा हुने तय थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।