काठमाडौं– राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित भारतीय क्लब गोकुलम केरेला एफसीले एएफसी वुमन्स क्लब च्याम्पियनसिप गुमाउने भएको छ।
मंगलबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा बाहिरी शक्ति हावी भएको भन्दै अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ।
फिफाको यस निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्ने छैन। भारतका क्लबले पनि एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्।
सावित्रा गत महिना मात्र पुनः भारतीय क्लब गोकुलम केरेला एफसीमा आबद्ध भएकी थिइन्। सावित्राले एक वर्षका लागि सम्झौता गरेकी छन्। सावित्राले गोकुलमबाट यसै महिना हुने एएफसी वुमन्स क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने तालिका थियो।
उज्बेकिस्तानमा हुने पश्चिम क्षेत्रको समूह चरणको खेल अगस्ट २० देखि २६ सम्म हुने तालिका तय छ। भारतको च्याम्पियन गोकुलमसँगै यस समूहमा उज्बेकिस्तानको सोग्दियाना, जोर्डनको अर्थडक्स क्लब र इरानको क्लब खातुन बाम एफसी रहेका थिए।
आयोजक थाइल्याण्डको कलेज अफ एसियन स्कलर्स, म्यानमारको आइएसपीई डब्लुएफसी र ताइपेइको ताइचुङ ब्लु व्हेल एफसीले अगस्ट १५ देखि २१ सम्म खेल्नेछन्। दुवै समूहका शीर्ष दुई टोलीले अक्टोबर २२ मा हुने फाइनल खेल्नेछन्।
गोकुलम सोमबार मात्रै यस प्रतियोगितामा सहभागिता जनाउन उज्बेकिस्तान पुगेको थियो। एएफसीले सन् २०२४ देखि एएफसी वुमन्स च्याम्पियन्स लिग सुरुआत गर्ने तयारी गरिरहेको छ।
यसअघि सन् २०१९ मा जापानको निपोन बेलेजा तथा सन् २०२१ मा जोर्डनको अम्मान क्लबले उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।