काठमाडौं– प्रिमियर लिगअन्तर्गत आइतबार चेल्सी र टोटनह्यामबीचको खेल मैदानभित्रको नतिजाभन्दा बढी मैदानबाहिर दुई प्रशिक्षकबीच घम्साघम्सीको विवादका कारण चर्चामा आयो।
चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेल र टोटनह्यामका एन्टोनियो कोन्टे खेलका दौरान र खेलपछि एक अर्काविरुद्ध भनाभनमा उत्रँदा खेलको माहोल तनावग्रस्त भएको थियो।
स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले दुई पटक अग्रता लिए पनि जित दर्ता निकाल्न सकेन। दोस्रो हाफको ६९औं मिनेटमा टोटनह्यामले बराबरी गोल गरेपछि कोन्टेले खुसियाली मनाउने क्रममा टुचेल फोर्थ अफिसियलसामू गोलप्रति असन्तुष्टि जनाइरहेका थिए।
यसक्रममा दुवै प्रशिक्षकबीच भनाभनको अवस्था सिर्जना भएको थियो। रेफ्रीले दुवैलाई पहेंलो कार्ड दिएका थिए। त्यसपछि चेल्सीले रिस जेम्सको गोलमा अग्रता लिँदा टुचेलले टोटनह्यामको बेन्च अगाडिबाट कुद्दै आफ्नो समर्थकसम्म पुगेका थिए।
खेलको इन्ज्युरी समयमा कर्नरमा टोटनह्यामका ह्यारी केनले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए। खेल सकिएपछि हात मिलाउने क्रममा दुई प्रशिक्षकबीच पुन: भनाभन भयो।
हात मिलाउने क्रममा एक अर्कासँग भनाभन हुँदा दुवै टोलीका अफिसियल र प्रशिक्षक नै उनीहरुलाई छुट्टयाउन आउनुपरेको थियो। रेफ्री एन्थोनी टेलरले यसपटक भने दुवैलाई रातो कार्ड दिएका थिए।
पोस्ट म्याचमा दुवै प्रशिक्षकले यस घटनाबारे खुलेर बोल्न चाहेनन्। यता, फुटबल एसोसियसन (एफए) दुवै प्रशिक्षकलाई कारवाही गर्ने भएको छ।
‘अगस्ट १४, आइतबार सम्पन्न चेल्सी र टोटनह्यामबीचको खेलमा थोमस टुचेल र एन्टोनियो कोन्टे दुवैले एफएको नियम इ३ को उल्लंघन गरेको देखिएको छ,’ एफएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सम्पन्न खेलको अन्त्यपछि देखिएको दुई प्रशिक्षकहरुको व्यवहार अनुचित थियो। यससम्बन्धमा टुचेल र कोन्टेसँग जवाफका लागि अगस्ट १८ सम्मको समय छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।