काठमाडौं– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एमबाप्पे यसवर्षको बालोन डी’ओरको शीर्ष ३० को मनोनयनमा परेका छन्। उनी आफैं बालोन डी’ओर जित्ने सम्भावना बोकेका खेलाडी हुन्। तर, एमबाप्पेले स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जेमाले यो अवार्ड जित्न सक्ने बताएका छन्।
‘बेन्जेमाले यसपालिको बालोन डी’ओर जित्ने सम्भावना छ। म उनीलाई नै रोज्नेछु। शीर्ष तीनमा म, बेन्जेमा र साडियो माने हो,’ उनले भने।
बेन्जे र एमबाप्पे फ्रान्सको राष्ट्रिय फुटबल टोलीबाट खेल्दै आएका छन्। सन् २०१८ मा क्रिस्टियानो रोनाल्डोले रियल छाडेपछि बेन्जेमाले लगातार उच्च प्रदर्शन गर्दै आइरहेका छन्। गत सिजन बेन्जेमाले ब्राजिली युवा विंगर भिनिसियस जुनियरसँगको समन्वयमा प्रभाव जमाइरहेका छन्।
३४ वर्षको उमेरमा पनि बेन्जामा च्याम्पियन्स लिगको हरेक खेलमा निर्णायक बने। बेन्जेमाले च्याम्पियन्स लिगमा पीएसजी, चेल्सी र म्यानचेस्टर सिटीविरुद्धको नकआउट राउन्डमा विजयीसहित १५ गोल गरेका थिए। उनले अघिल्लो सिजन २७ गोल र १२ असिस्टसहित ला लिगाको उपाधि पनि जितेका थिए।
‘रियल मड्रिड बालोन डी’ओरको मेसिन हो, तपाईंले यसलाई स्वीकार गर्नुपर्छ। त्यसैले यदि बेन्जेमाले यसपटक बालोन डी’ओर जित्न सकेन भने म यो अवार्डको कहिल्यै पनि विश्वास गर्दिनँ,’ एमबाप्पेले भने।
यता, पीएसजीका फरवार्ड लिओनल मेसीले पनि बेन्जेमाले यस वर्षको बालोन डी’ओर जित्नुपर्नेमा आफूलाई कुनै शंका नभएको बताएका थिए। ‘बेन्जेमाले बालोन डी’ओर जित्नुपर्छ भन्नेमा कुनै शंका छैन। बेन्जेमाको वर्ष शानदार रह्यो र च्याम्पियन्स लिग जित्यो। अन्तिम १६ देखिका सबै खेलमा उनले आफ्नो प्रभाव जमाए। मलाई लाग्छ यो वर्ष कुनै शंका छैन,’ उनले भनेका थिए।
एमबाप्पेले आफू पनि कुनै समय अवार्ड जित्न सक्ने समेत बताएका छन्। ‘म आफ्नो ठाउँमा रहनुपर्छ, तर एक दिन म पीएसजीमा हुँदा बालोन डी’ओर जित्न सक्छु,’ उनले भने।
उनले अहिले क्लबबाट धेरैभन्दा धेरै उपाधि जित्ने लक्ष्य आफूले राखेको बताउँदै बालोन डी’ओरमा ध्यान नरहेको दाबी गरे। ‘सबैको लक्ष्य क्लबबाट धेरैभन्दा धेरै उपाधि जित्ने नै हो। त्यसपछि मात्रै व्यक्तिगत विधामा ध्यान जान्छ। हाम्रो ध्यान अहिले नै बालोन डी’ओरमा छैन। पहिले शीर्ष शीर्ष १० मा पुगिरहेको हुन्थे। अहिले शीर्ष चार या पाँचमा परेको छु। यसमा खुसी छु,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।