काठमाडौं– गत सिजन स्पेनिस ला लिगाको अन्तिम दुई खेलमा जित निकाल्न नसकेको क्याटलान क्लब बार्सिलोना नयाँ सिजनको पहिलो खेलमा समेत अंक बाँड्न बाध्य भयो। घरेलु मैदानमा क्याम्प नोउमा शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले रायो भालेकानोसँग गोलरहित बराबरी खेल्दै सिजनको सुरुआत गरेको हो।
बार्सिलोनाले रायो भालेकानोविरुद्ध यसै समरमा क्लबमा आबद्ध गरेका रोबर्ट लेवान्डोस्की, राफिन्हा र आन्द्रेस क्रिस्टेन्सेनलाई पहिलो रोजाइमा मैदान उतारेको थियो। तर, खेलमा बल पोसेसन राख्दै पाहुना टोलीमाथि लगातार दवाव बढाएपनि बार्सिलोनाले रायो भालेकानोको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो।
खेलको अन्त्यतिर बार्सिलोना १० खेलाडीमा समेटिन पुगेको थियो। सर्जियो बुस्क्वेट् इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिँदा बार्सिलोना १० खेलाडीमा समेटिन पुगेको थियो।
रायो भालेकानोसँग गोलरहित बराबरीसहित निराशाजनक सुरुआत गरेपछि बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले समर्थकलाई धैर्य हुन आग्रह गरेका छन्। ‘हामी स्वाभाविक लयमा छौं भन्ने देखाउन चाहन्छौं। हामीमाथि धेरैको अपेक्षा छ, तर अहिले निराश हुनुपर्ने केही छैन,’ उनले भने, ‘यो लिगको सुरुआत मात्रै हो। म बार्सिलोना समर्थकलाई धैर्य हुन आग्रह गर्न चाहन्छु।’
बार्सिलोनाले आगामी साता रियाल सोसिडाडसँग उसैको मैदानमा खेल्ने छ। गत सिजन सजिलै लिग उपाधि जितेको रियल मड्रिड त्यसलाई रक्षा गर्ने अभियानमा छ। तर, टोली बलियो बनाउँदै बार्सिलोनाले चीर प्रतिद्वन्द्वी रियलको अभियान रोक्न चाहेको छ।
गत सिजन रियलले १३ अंकको फरकमा उपाधि जितेको थियो। बार्सिलोनाले यो समर ट्रान्सफर विन्डोमा सनसनी मच्चाएको थियो। क्लब अध्यक्ष जोन लापोर्टाले खेलाडी किन्नका लागि क्लबको व्यावसायिक सम्पत्तिको एक हिस्सा बेचेका थिए।
यस समरमा बार्सिलोनाले जुल्स काउन्डे, एन्ड्रेस क्रिस्टेनसेन, फ्रान्क केस्सी, राफिन्हा र रोबर्ट लेवान्डोस्की भित्र्याएको छ। उस्मान डेम्बेलेको सम्झौता नवीकरण भइसकेको छ। जसले गर्दा प्रशिक्षक जाभीले राखेका हरेक पोजिसनमा दुई स्तरीय खेलाडीको अनुरोध पूरा भएको छ। उनले वास्तविक रूपमा अपेक्षा गरेको भन्दा धेरै खेलाडी पाएका छन्।
जाभीको नेतृत्वमा गत सिजनमा बार्सिलोनाले आफ्ना २६ लिग खेलबाट ५६ अंक जोडेको थियो। बर्नाबेउमा रियलमाथि ४–० को जितसहित बार्सिलोनाले फेब्रुअरी र अप्रिलको बीचमा लगातार ७ खेल जितेको थियो।
तर, काडिज र रायो भालेकानोसँग घरेलु मैदानमै बार्सिलोना पराजित भएको थियो। यस्तै, युरोपा लिगमा ईनट्राक्ट फ्रान्कफर्टसँग पराजित हुँदै बाहिरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।