मस्को (एजेन्सी) – साउदी अरबका राजा सलमान यतिबेला रुसको भ्रमणमा छन् । अरु समय जस्तै यस पटक पनि कर्मचारीको विशाल लर्को र टनाटन लगेजका कारण उनको यात्रा चर्चाको विषय बनेको छ।
यसपटक राजा सलमानले आफ्नो यात्रामा १५ सय कर्मचारी लगेका छन् भने खाने-पिउने गरेर ८ सय किलो सामान साथमा लगेका छन् । यसका साथै फर्निचरका सामान, कार्पेट र जहाजमा प्रयोग गर्न सुनको भर्या ङ लगेकाले साउदी राजा चर्चाको पात्र बनिरहेका छन्।
यति धेरै कर्मचारी र सरसामान राख्न दुई वटा फाइभ स्टार होटल पूरै बुक गरिएको छ । ब्लुमबर्गको रिपोर्ट अनुसार साउदीबाट गएका यी पाहुनाका लागि मस्कोको रित्ज कार्लटन र फोर सिजन होटलले आफ्नो सबै बुकिङ रद्द गरिदिएको थियो ।

साउदी राजा सलमान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन क्रेमलिनमा
रुसको रिया नोवोत्सी समाचार एन्जसीका अनुसार सऊदी किङका कर्मचारीका कारण मस्कोस्थित क्रेमलिनको वरिपरि रहेका पाँचतारे होटल समेत खचाखच भएका छन् । होटलको बिल नै १९ करोडभन्दा बढी पुग्ने अनुमान गरिएको छ।
टेलिग्राफका अनुसार, राजाको भ्रमण दलमा २५ जना राजकुमार, एक सय २५ जना सेफ र स्वकीय सचिव र सुरक्षाकर्मी छन् ।
समाचार अनुसार, कतिपय राजकुमारहरुले आफ्नो स्वादको कफी र अन्य खानपान बनाउन होटलका कर्मचारीको ठाउँमा आफ्नो सहयोगीलाई राखेका छन्।
राजाले आफूसँगै लगेका बन्दोबस्तीका सामानमा साउदी राजदरबारको हिस्सा रहेका सानदार फर्निचर र कार्पेट पनि छन्, जसले गर्दा राजालाई पूरापूर सुख-सुविधा दिन सकियोस्।
मस्कोबाट विमानले अत्यावश्यक सामान ल्याउन दैनिक रुपमा साउदी राजधानी रियादतर्फ उडान भर्ने पनि मानिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।