काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिव किरण राईलाई दिएको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी कार्यसमितिको दोस्रो बैठकले कतारसँग समन्वय गरेर मुख्य प्रशिक्षक अल्मुताइरीबारे निर्णय गर्ने जिम्मा महासचिव राईलाई दिएको हो।
एएफसी एसियन कप छनोटको तयारीमा रहेका बेला मुख्य प्रशिक्षक अल्मुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गत वैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले ‘विद्रोह’ गरेका थिए।
बन्द प्रशिक्षण छाड्नेमा उपकप्तान रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तिमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, तेज तामाङ र अन्जन विष्ट थिए।
१० खेलाडीलाई साथ दिएका कप्तान तथा गोलकिपर किरण चेम्जोङले समेत एसियन कप छनोट गुमाएका थिए। त्यसपछि अल्मुताइरी विवादमा तानिएका हुन्।
उक्त विवादबारे छानबिन गर्न गठित समितिले तयार पारेको रिपोर्ट अनुसार मुख्य प्रशिक्षक अल्मुताइरीसमेत दोषी रहेको देखाएको छ। यस्तै, प्रतिवेदनले अल्मुताइरीको विकल्प खोज्न सिफारिस गरेको थियो।
उनी हाल कतारमा छुट्टी मनाइरहेका छन्। आगामी असोजमा बंगलादेशविरुद्धको घरेलु मैदानमा हुने मैत्रीपूर्ण खेलमा उनी टोलीसँग हुने छैनन्। एन्फाले उनको अनुपस्थितिमा प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।