काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी असोज दोस्रो साता बंगलादेशसँग घरेलु मैदानमा हुने मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षकमा नियुक्त गरेको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी कार्यसमितिको दोस्रो बैठकले असोज ११ गते बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलका लागि हुमागाईंलाई कार्यवाहक प्रशिक्षकमा नियुक्त गरेको हो।
नेपाल र बंगलादेशबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ। मैत्रीपूर्ण खेल ‘फिफा विन्डो’ अन्तर्गत हुन लागेहो हो। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी हाल छुट्टीमा रहेका छन्। उनको अनुपस्थितिमा हुमागाईंलाई प्रशिक्षकमा नियुक्त गरिएको बैठकमा सहभागि एक केन्द्रीय सदस्यले नेपाल लाइभलाई जानकारी दिए।
यद्यपी, बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अल्मुताइरीले २६ खेलाडीको सूची एन्फालाई पठाएका छन्। उक्त सूचीमा राष्ट्रिय टोलीबाट निकालिएका अन्जन विष्ट र तेज तामाङ पनि अटाएका छन्।
एएफसी एसियन कप छनोटको तयारीमा रहेको बेला मुख्य प्रशिक्षक अल्मुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गत वैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले ‘विद्रोह’ गरेका थिए।
बन्द प्रशिक्षण छाड्नेमा उपकप्तान रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तिमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, तेज तामाङ र अन्जन विष्ट थिए।
१० खेलाडीलाई साथ दिएका कप्तान तथा गोलकिपर किरण चेम्जोङले समेत एसियन कप छनोट गुमाएका थिए। एन्फाको पहिलो कार्यसमितिको बैठकले स–सम्मान सबै खेलाडीलाई राष्ट्रिय टोलीमा फिर्ता बोलाउने निर्णय गरेको थियो। तर, मुख्य प्रशिक्षक अल्मुताइरीले भने दुई खेलाडीको नाम मात्र सिफारिस गरेको छन्।
यस्तै, एसियन कप छनोटमा टोलीमा नरहेका जगजित श्रेष्ठ, दिनेश हेम्जन, मनिष मगर र प्रशान्त अवस्थीलाई समेत मुख्य प्रशिक्षक अल्मुताइरीले डाकेका छन्।
उनले पठाएको सूचीमा यू–२० टोलीका कप्तान आयुष घलान अटाएका छैनन्। यस्तै, एसियन कप छनोट खेलेका दर्शन गुरुङ र सन्तोष तामाङ छैनन्। उनीहरु अस्ट्रेलिया पलायन भइसकेका छन्।
अल्मुताइरीले एन्फालाई पठाएको खेलाडीको सूची -
एरिक विष्ट, विकास खवास, विकास तामाङ, विशाल सुनार, दीप कार्की, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ, निरकुमार राई,पुजन उपरकोटी,राजन गुरुङ,रोशन राना मगर, सेसेहाङ आङदेम्बे, शिब गुरुङ, सुमन अर्याल,सुनिल बल, टेकेन्द्र सिंह थापा, सुरज ज्यु ठकुरी,आकाश बुढा मगर,प्रशान्त अवस्थी,जगजित श्रेष्ठ, मनिष मगर,अन्जन विष्ट,तेज तामाङ, दिनेश हेम्जन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।