काठमाडौं– भारतीय आयकर विभागले महाराष्ट्रको जालनामा एक कारोबारीको ठेगानाबाट ३ अर्ब ९० करोड भारतीय रुपैयाँ बराबरको बेनामी सम्पत्ति बरामद गरेको छ।
उक्त छापामा ५८ करोड भारतीय रुपैयाँ नगद, ३२ किलो सुनका गहना, १६ करोड भारतीय रुपैयाँ बराबरको हिरा र मोती भेटिएको छ।
आयकर विभागको टोलीले नगद गन्नका लागि करिब ३ घण्टा लगाएको थियो। व्यापारी र जग्गा करोबारीको कार्यालयमा १ देखि ८ अगस्टसम्म उक्त कारबाही चलाइएको थियो। यस छापाका लागि आयकर विभागका २६० कर्मचारी १२० भन्दा बढी गाडीमा आएका थिए।
आयकर विभागले बरामद भएको रकम र गहना कर छलीको हुनसक्ने आशंका गरेको छ। सुरुआती जाँचका क्रममा उक्त रकम भेटिएको थिएन।
पछि जालनाभन्दा १० किलोमिटरको दूरीमा कारोबारीको एक फार्म हाउसमा छापा मारिएको थियो। जहाँ एक दराजभित्र र विस्तरामुनि कपडाको थैलीमा नोट राखिएको पाइएको थियो।
नोटलाई स्टेट बैंक अफ इन्डियाको स्थानीय शाखामा लगेर गनिएको थियो। आयकर विभागको टिमले छापाको योजनालाई निकै गुप्त राख्न आफ्नो गाडीमा दुलाह र दुलहीको नामको स्टीकर टाँसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।