काठमाडौं– भारतीय राज्य बिहारमा जनता दल यूनाइटेड (जदयू)का नेता नितीश कुमार आठौं पटक मुख्यमन्त्री भएका छन्। बिहार राज्यको मुख्यमन्त्रीका रूपमा नेता नितीश कुमारले पटना राजभवनमा बुधबार शपथ लिए।
भारतीय जनता पार्टी (भाजपा) सँगको सत्ता साझेदारी त्यागेर विपक्षी दलको सहयोगमा नितीश कुमार मुख्यमन्त्री बनेका हुन्। उनलाई तजेस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल लगायतको समर्थन रहेको छ।
७ दलीय महागठबन्धनको मंगलबार बैठकले नितीशलाई नै मुख्यमन्त्री पदका निम्ति चयन गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय जनता दलका नेता यादवले पनि बुधबारै राज्यको उपमुख्यमन्त्रीको शपथ लिएका छन्।
जनता दल यूनाइटेड र राष्ट्रिय जनता दलको साझेदारीले २४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ भने गठबन्धनलाई जितन माझीको एचएएमजस्ता साना दलले पनि समर्थन गरेका छन्।
बिहार राज्य विधानसभामा भारतीय जनता पार्टीका ७७ जना विधायक छन्। नितीश कुमारलाई १६४ जना विधायकको समर्थन छ।
नितीश कुमारले सन् २००५ देखि भाजपासँग सत्ता सहकार्य गरेका थिए। तर, पछिल्लो समय भाजपाले आफ्नो पार्टीलाई कमजोर बनाउन भूमिका खेलेको उनको आरोप छ।
मंगलबार पटनास्थित मुख्यमन्त्री निवासमा आफ्नो पार्टीका विधायकहरुसँगको छलफलमा नितीश कुमारले भाजपासँग सत्ता सहकार्य गर्न नसकिने निर्णय सुनाउनु अगाडि भाजपाले कसरी आफ्नो पार्टीलाई कमजोर बनाइरहेको छ भन्नेबारे ब्रिफिङ गरेका थिए। सन् २०१३ देखि नै भाजपाले आफू बलियो हुन अरुलाई कमजोर बनाउने नीति अख्तियार गरको उनको भनाइ थियो।
मंगलबार भाजपासँगको गठबन्धन तोड्ने निर्णय गरेपछि नितीश कुमारले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। बुधबार विधान सभाको सबैभन्दा ठूलो पार्टी राष्ट्रिय जनता दलसहित अन्य साना दलको समर्थन जुटाएर उनी पुन: मुख्यमन्त्री नियुक्त भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।