काठमाडौं- राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले अरुकै चुनाव चिह्नमा निर्वाचन लड्ने घोषणा गरेका उम्मेदवाहरुलाई पार्टी प्रवेश गर्न सुझाव दिएका छन्।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा वाम गठबन्धन र लोकतान्त्रिक मोर्चा निर्माणका संलग्न हुँदै ठूला पार्टीको निर्वाचन चिह्नमा चुनाव लड्नेहरुप्रति व्यंग्य गर्दै उनले भने, ‘छाला स्यालको र व्यवहार बाघको भनी प्रचार गर्ने ब्वाँसो प्रवृत्ति नदेखाई असली रुपमा चुनाव लड्नुस्।'
एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी मिलेर वामपन्थी मोर्चा निर्माणपछि केही पार्टीले सूर्यमा त केहीले गोलाकार हँसिया हथौडा चिह्नमा चुनाव लड्ने घोषणा गरेका थिए। ‘वाम एकता हुनुभन्दा पहिलो विदेशी शक्तिका पछि लागेकादेखि एनजिओ-आइएनजिओ खेती गरेकासम्म अरुकै चिह्नमा किन लड्न तयार भए? म छक्क परेको छु,’ केसीले भने, ‘ कम्युनिस्ट नै छैन भन्नेहरु पनि एउटै कम्युनिस्ट पार्टी निर्माणमा लागेका छन्।’
अहिलेको वाम एकताप्रति आफ्नो कुनै रुचि नरहेको भन्दै केसीले उनीहरुसँग निर्वाचन केन्द्रित कार्यगत एकता भने गर्ने बताए। ‘स्थानीय तहको निर्वाचनमा पनि हामीले विभिन्न पार्टीसँग कार्यगत एकता गरेका थियौं,’ उनको भनाइ थियो, 'अबको निर्वाचनमा पनि यत्ति मात्र हुने हो।’
मंसिर १० र २१ गते हुने निर्वाचनमा आफ्नै चुनाव चिह्नमा लड्ने उनको भनाइ छ।
२०७० को संविधानसभा निर्वाचनमा ३ सिट प्राप्त गरेको जनमोर्चाको बाग्लुङ लगायत जिल्लामा राम्रो संगठन रहेको छ। वाम गठबन्धनका नेताहरुले पार्टी एकताको प्रस्ताव राखे पनि केसीले त्यसलाई अस्वीकार गरिदिएका छन्।
‘मिलेसम्म निर्वाचनकेन्द्रित कार्यगत एकता गरेर जान तयार रहेको कुरा मैले वामपन्थी गठबन्धनका नेताहरुलाई भन्दिएको छु,’ नेपाल लाइभसँग कुरा गर्दै केसीले भने।
वामपन्थी गठबन्धनमा सहभागी हुँदै एमालेको सूर्य र माओवादीको गोलाकार हँसिया हथौडा लिएर निर्वाचनमा जाने नयाँ शक्ति नेपाल, तमलोपाबाट अलग रहेको हृदयेश त्रिपाठी समूह, परिवार दल, नेकपा संयुक्त लगायतका दलहरुले घोषणा गरेका छन्।
एउटै कम्युनिस्ट पार्टी बनाउने उद्घोष गरेका माओवादी र एमाले भने फरकफरक चिह्नमा निर्वाचन लड्दैछन्। निर्वाचन आयोगले एउटै चिह्नमा लड्न नमिल्ने भनेपछि उनीहरु आ–आफ्नै चुनाव चिह्नमा लड्न लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।