काठमाडौं– इटालियन क्लब इन्टर मिलान फरवार्ड एलेक्सिस सान्चेज फ्रान्सेली लिग वान क्लब मार्सेमा अनुबन्धित हुने पक्का भएको छ। इन्टरले सान्चेजको सम्झौता रद्द गरेपछि उनी मार्सेमा जाने पक्का भएको हो।
मेडिकल र कागजी प्रक्रियापछि उनले मार्सेसँग २ वर्षको सम्झौता गर्नेछन्। ३३ वर्षीय सान्चेजले एक सिजन लोनसहित इन्टरमा तीन सिजन बिताउँदा १०९ खेलमा २० गोल गरेका थिए। उनले इन्टरबाट ३ उपाधि जितेका छन्।
सान्चेज २०२०–२१ को सिजनमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टरमा स्थायी खेलाडीको रुपमा अनुबन्ध भएका थिए।
त्यसअघि उनले एक सिजन लोनमा इन्टरमै बिताएका थिए। त्यसयता इन्टरले सिरी ‘ए’ सँगै सुपरकोपा इटालिया र कोपा इटालिया जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य रहेका थिए।
सान्चेजले चिलियन क्लब कोब्रेलोआबाट व्यवसायिक खेल करिअर सुरुआत गरेका थिए। त्यसपछि सान्चेजले चिलीकै कोलो कोलो, अर्जेन्टिनाको रिभर प्लेट, इटालीको उडिनेस, क्याटलान क्लब बार्सिलोना, प्रिमियर लिग क्लब आर्सनल र म्यानचेस्टर युनाइटेडबाट खेलिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।