काठमाडौं– लन्डन क्लब चेल्सीका फरवार्ड टिमो वेर्नर आफ्नो पूर्वक्लब आरबी लाइप्जिग फर्किएका छन्।
जर्मनीका २६ वर्षीय फरवार्ड वेर्नर २०२० मा लाइप्जिगबाटै ४५ मिलियन पाउन्डमा चेल्सीमा अनुबन्ध भएका थिए। तर, दुई सिजन चेल्सीमा बिताएका वार्नरले सोचेअनुरुपको प्रदर्शन गर्न सकेनन्।
उनले लाइप्जिगसँग २५ मिलियन पाउन्डमा ५ वर्षको सम्झौता गरेका छन्। उनले लाइप्जिगमा ११ नम्बरको जर्सी लगाउने तय भएको छ।
वेर्नरले चेल्सीका लागि दुई सिजनमा ८९ खेलमा २३ गोल गरेका थिए। प्रिमियर लिगमा दुई सिजन खेल्दा वेर्नरले ५६ खेलमा १० गोल मात्रै गरे।
उनी चेल्सीले २०२१ म च्याम्पियन्स लिगको उपाधि जित्दा टोलीका सदस्य थिए। सन् २०१६ मा स्टटगार्टबाट लाइप्जिग आएपछि वेर्नरले सनसनी पूर्ण प्रदर्शन गरेका थिए।
उनले लाइप्जिगका लागि १५९ खेलमा ९५ गोल गरेका छन्। २०२० मा प्रिमियर लिग क्लब लिभरपुल, जर्मनीकै क्लब बायर्न म्युनिख र स्पेनिस क्लब एट्लेटिको मड्रिडले उनलाई भित्र्याउने प्रस्ताव गरेको थियो। तर, उनले चेल्सी रोजेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।