काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा ५ बाट निर्वाचित भएका थिए। ५ वर्षपछि यही मंसिर ४ गते हुँदै गरेको प्रतिनिधि सभाको निर्वाचनमा पनि ओली सोही निर्वाचन क्षेत्रबाट उठ्ने तयारी गरिरहेका छन्। २०७४ को निर्वाचन हुँदै गर्दा र अहिलेको परिस्थितिमा केही बदलाव आएको छ। तर, ओली आफ्नो क्षेत्रमा बलियो नै देखिन्छन्।
२०७४ मा वाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रका अतिरिक्त उनलाई राप्रपाको पनि समर्थन थियो। त्यतिबेला ओलीले ५७ हजार १३९ मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका थिए। अन्य उम्मेदवारले पाएको जम्मा मत ५ हजार ९०९ मात्रै थियो।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ओलीको निर्वाचन क्षेत्र झापा-५ मा पर्ने वडाहरुमा पार्टीका वडाध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मत गणना गर्दा एमालेका उम्मेदवारले पाएको मत सर्वाधिक छ। जसले अब पनि ओलीको जित सुनिश्चित रहेको आकलन गर्न सकिन्छ।
झापा ५ मा गौरीगंज गाउँपालिकाका वडा नम्बरहरु ३, ४, ५ र ६, गौरादह नगरपालिकाका वडा नम्बरहरु १, २, ३, ४, ५, ६, ७ र ८, दमक नगरपालिकाका सबै वडाहरु र कमल गाउँपालिकाका सबै वडा पर्दछन्। यी सबै गरी झापा- ५ मा २९ वटा वडा छन्।
२९ मध्ये एमालेले १८ वटा वडाध्यक्ष जितेको छ। त्यस्तै, कांग्रेसले ६ वटा, माओवादी केन्द्रले २ वटा, एकीकृत समाजवादीले एउटा, राप्रपाले एउटा र स्वतन्त्र उम्मेदवारले एउटा वडाध्यक्ष जितेका छन्।
स्थानीय तहको निर्वाचनमा एमालेले २९ वटै वडामा अध्यक्षमा उम्मेदवार उठाएको थियो। ती उम्मेदवारहरुले प्राप्त गरेको कुल मत ४१ हजार ६१९ थियो। त्यस्तै, कांग्रेसले वडाध्यक्षमा उम्मेदवारी दिएका १८ वटा वडाबाट २२ हजार ९३२ मत पाएको छ। अर्को दल माओवादी केन्द्रले वडाध्यक्षमा उम्मेदवारी दिएका ११ वटा वडाबाट ९ हजार ८७८ मत पाएको छ।
एकीकृत समाजवादीले वडाध्यक्षमा उम्मेदवारी दिएका ८ वटा वडाबाट १ हजार ९८८ मत पाएको छ। राप्रपाले २१ वटा वडाबाट ७ हजार ४६० मत थियो।
त्यस्तै, जनमत पार्टीले ८३०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १७५४, मंगोल नेशनल अर्गनाइजेसनले २८४, लोकतान्त्रिक समाजवादी पार्टीले १११, नेपाली जनता दलले २६, राष्ट्रिय जनमुक्ति पार्टीले ६८, उन्नत लोकतान्त्रिक पार्टीले ९, विवेकशील साझा पार्टीले ६८ मत पाएका थिए।
फरक–फरक वडामा स्वतन्त्र उम्मेदवारहरुले पाएको मत ३ हजार ४८५ छ।
यसअनुसार, सबै दल आ-आफ्नै ढंगले प्रतिस्पर्धामा उभिए भने ओली स्वतः विजयी हुने देखिन्छन्। स्थानीय तहको निर्वाचनको आधारमा ओलीले कांग्रेस उम्मेदवारभन्दा साढे १८ हजारभन्दा बढी मत पाउने देखिन्छ। सत्ता गठबन्धनमा रहेका प्रमुख दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा पनि त्यो मत ३४ हजार ७९८ मात्रै पुग्छ। त्यस अवस्थामा पनि ओली नै बलिया देखिन्छन्। त्यसो त यसअघि जस्तै ओलीलाई राप्रपाले सघाउन सक्छ। त्यो अवस्थामा ओलीको मत ४९ हजार ७९ मत पुग्छ।
प्रतिनिधि सभाको आगामी निर्वाचनमा थप २ पक्ष विचारणीय छन्। पहिलो, स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधि सभाको निर्वाचनमा मतदाताको संख्या केही बढेको हुनेछ। त्यसको धेरथोर फाइदा सबै पार्टीलाई पुग्नेछ। दोस्रो, पूर्वप्रधानमन्त्री र लोकप्रिय नेता व्यक्तिको फाइदा ओलीलाई पुग्न सक्छ। त्यसैले स्थानीय तहको निर्वाचनमा आ-आफ्नो पार्टीलाई उम्मेदवारलाई मत दिए पनि प्रतिनिधि सभाको निर्वाचनमा ओली जस्ता प्रभावशाली नेतालाई जिताउनुपर्ने मान्यता व्यक्त हुने गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।