काठमाडौं– भारतीय जनता पार्टी (भाजपा) सँगको गठबन्धन तोडेसँगै विहारका मुख्यमन्त्री नितीश कुमारले पदबाट राजीनामा दिएका छन्। भाजपाको समर्थनमा मुख्यमन्त्री रहेका नितीशले यसअघि विपक्षमा रहेको राष्ट्रिय जनता दलसँग मिलेर सरकार निर्माण गर्न पदबाट राजीनामा दिएका हुन्।
मुख्यमन्त्रीमा नितीश कुमार नै निरन्तर रहने भएका छन्। राष्ट्रिय जनता दल भने गृहमन्त्री लिएर सरकारमा सहभागी हुने भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार राष्ट्रिय जनता दलका नेता तेजस्वी यादव गृहमन्त्री हुनेगरी दुई पार्टीबीच सहमतिक खाका तयार भएको छ।
आफ्नो दललाई कमजोर बनाउन भूमिका खेलेको भन्दै जदयूले भाजपासँगको गठबन्धन तोडेको हो।
पटनास्थित मुख्यमन्त्री आवासमा बसेको जदयूका सांसद र विधायकहरूको बैठकले भाजपा सँगको गठबन्धन तोडिएको घोषणा गरेको हो।
बैठकमा जदयूका नेता तथा मुख्यमन्त्री नितीश कुमारले भाजपाले जहिले पनि आफूहरुलाई कमजोर बनाउन भूमिका खेलेकाले उक्त पार्टीसँग सत्ता सहकार्य गर्न नसकिने भन्दै ब्रिफिङ गरेका थिए। भाजपाले आफूहरुलाई सन् २०१३ देखि अहिलेसम्म धोका मात्रै दिएको उनको भनाइ थियो।
भाजपासँगको गठबन्धन टुटेपछि जदयूले अब विधान सभाको सबैभन्दा ठूलो तथा प्रमुख विपक्षी पार्टी राष्ट्रिय जनता दलसहित कांग्रेस र वाम घटकहरुसँग मिलेर सरकार बनाउने भएको छ।
विहान विधान सभामा राष्ट्रिय जनता दलका ७९ विधायक छन्। यस्तै, बीजेपीका ७७, जदयूका ४५, कांग्रेसका १९ र वामपन्थी पार्टीका १६ विधायक छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।