काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई अक्टोबरमा हुने महिला यू-१७ विश्वकपको आयोजना खोस्ने र निलम्बन गर्ने धम्की दिएको छ।
भारतीय सर्वोच्च अदालतले राष्ट्रिय महासंघलाई एआईएफएफको निर्वाचन गर्न निर्देशन दिएको केही दिनपछि फिफाले कारबाही गर्ने धम्की दिएको हो।
सर्वोच्च अदालतले बुधबार कार्यकारी समितिलाई प्रशासक समितिले तोकेको कार्यतालिका अनुसार निर्वाचन गर्न निर्देशन दिएको छ। हाल प्रशासक समिति राष्ट्रिय महासंघ अन्तर्गत चलिरहेको छ।
भारतले अक्टोबर ११ देखि फिफा यू–१७ महिला विश्वकप आयोजना गर्ने तय छ। अगस्ट २८ गते एआईएफएफको निर्वाचन हुनेछ भने१३ गतेबाट निर्वाचन प्रक्रिया सुरु हुनेछ। सर्वोच्च अदालतले प्रशासक समितिले तयार पारेको कार्यक्रम स्वीकृत गरेको छ।
फिफाले एआईएफएफका कार्यवाहक महासचिव सुनन्दो धरलाई लेखेको पत्रमा भनिएको छ, ‘हामी एआईएफएफलाई अगस्ट ३, २०२२ मा भएको सर्वोच्च अदालतको निर्णयको आधिकारिक प्रतिलिपि ९ अगस्ट २०२२ को साँझ ५ बजेसम्म उपलब्ध गराउन अनुरोध गर्दछौं।’
पत्रमा थप भनिएको छ, ‘माथिको कागजात प्राप्त भइसकेपछि र राम्रोसँग विश्लेषण गरेर हामी फिफाको कानुन बमोजिम थप सम्भावित निर्णयमा पठाउनेछौं।’ सम्भावित निर्णयहरूमा एआईएफएफको निलम्बन र भारतमा हुने फिफा यू–१७ महिला विश्वकपको आयोजनाको अधिकार फिर्ता लिने समावेश छ।
फिफाले आफ्ना सदस्य एकाइहरूको सञ्चालनमा तेस्रो पक्षको हस्तक्षेपको विरुद्धमा रहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।