काठमाडौं– इजरायलमा हुने तय भएको स्पेनिस क्लब एट्लेटिको मड्रिड र इटालियन क्लब युभेन्ट्सबीचको प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेल स्थगित भएको छ।
यी दुईबीचको खेल आज आइतबार तेल एभिभ ब्लुमफिल्ड रंगशालामा हुने तालिका थियो। तर, इजरायल र प्यालेस्टाइनबीचको द्वन्द चर्किएपछि शनिबार दुवै टोलीले सुरक्षा कारण देखाउँदै खेल नखेल्ने जानकारी दिएका हुन्।
‘हालै सिर्जना भएको कोम्टेक ग्रुपले एट्लेटिको मड्रिड र युभेन्ट्सबीचको खेल रद्द गरेको छ,’ युभेन्ट्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
इजरायलले शनिबार गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको थियो। उक्त आक्रमणमा इजरायलले आफूले गाजापट्टीमा इस्लामिक जिहादका अर्का वरिष्ठ नेताको हत्या गरेको दाबी गरेको छ।
सैनिक अधिकारीहरूले खालेद मन्सुर रफा शहरमा गरिएको हवाई हमलामा मारिएको जनाएको बीबीसीले उल्लेख गरेको छ। मंगलबार इस्लामिक जिहादका एक जना वरिष्ठ सदस्यलाई इजरायलले हत्या गरेपछि चर्किएको तनावमा कम्तिमा २४ जना प्यालेस्टिनीहरूले ज्यान गुमाएको बताइएको छ।
मारिनेमा ६ जना बालबालिका रहेका छन्। विद्रोहीहरूले शुक्रवार यता इजरायल ३५० भन्दा बढी रकेट प्रहार गरेका छन्। गाजाबाट रातभरि इजरायलतर्फ दर्जनौँ क्षेप्यास्त्रहरू प्रहार गरिएको र तीमध्ये अधिकांशलाई रोकिएको इजरायली सेनाले बताएको छ।
युभेन्ट्सले अगस्ट १५ ससौलाविरुद्ध खेल्दै सिरी ‘ए’ को नयाँ सिजन सुरू गर्नेछ। यता, एट्लेटिकोले सोही दिन गेटाफेविरुद्ध खेल्दै ला लिगाको सुरूआत गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।