काठमाडौं– यसै महिना आयोजना हुने एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपीएफ फुटबल क्लबकी फरवार्ड सावित्रा भण्डारी भारत प्रस्थान गरेकी छन्। उनी शनिबार भारत प्रस्तान गरेकी हुन्।
गत महिना उनी पुनः भारतीय क्लब गोकुलम केरेला एफसीमा आबद्ध भएकी थिइन्। अर्को महिना स्वदेशमा आयोजना हुने साफ च्याम्पियनसिप अघि सावित्रा व्यवसायिक फुटबल खेल्ने भएकी हुन्। सावित्राले एक वर्षका लागि सम्झौता गरेकी छन्।
दुई वर्षअघि सावित्रा आवद्ध गोलकुलमले महिला लिग ‘आइडब्लू एफ’को उपाधि जितेको थियो। त्यतिबेला ‘प्ले अफ’ चरण पार्दै अघि बढेको गोकुलम अपराजित रहँदै फाइनल पुग्दा सावित्राले १६ गोल गरेकी थिइन्।
सन् २०१९ मा पहिलो पटक सावित्राले सेथु एफसीबाट खेल्दा पनि टोलीलाई च्याम्पियन बनाएकी थिइन्। त्यसबेला उनले टोलीका लागि १४ गोल गरेकी थिइन्।
गत वर्ष भने चोटका कारण सावित्रा मैदान बाहिर रहिन्। २०७७ फागुनमा घुँडामा चोट लागेपछि सावित्रा कतार पुगेर उपचार गरेर असोजमा स्वदेश फर्केकी थिइन्। उनी पुनः मैदानमा फर्किने तयारीमा छिन्।
सावित्राले गोकुलमबाट यसै महिना हुने एएफसी वुमन्स क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछिन्। उज्बेकिस्तानमा हुने पश्चिम क्षेत्रको समूह चरणको खेल अगस्ट २० देखि २६ सम्म हुनेछ।
भारतको च्याम्पियन गोकुलमसँगै यस समूहमा उज्बेकिस्तानको सोग्दियाना, जोर्डनको अर्थडक्स क्लब र इरानको क्लब खातुन बाम एफसी रहेका छन्। सावित्रा समूह चरण समाप्त भएपछि नेपाल फर्कने छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।