काठमाडौं- साफ यू-२० च्याम्पियनसिपको उपाधि आयोजक भारतले जितेको छ।
भुवनेश्वरमा शुक्रबार राति सम्पन्न खेलमा बंगलादेशलाई ५-२ गोले पराजित गर्दै भारतले उपाधि जितेको हो।
निर्धारित ९० मिनेट र दुई मिनेटको इन्जुरी समयमा पनि २-२ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा थप ३ गोल गर्दै भारतले उपाधि पक्का गरेको हो।
खेलको दोस्रो मिनेटमै गुरकिरत सिंहले पेनाल्टीमार्फत् गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए।
बंगलादेशका गोलकिपर मोहम्मद आसिफले सिंहलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा उनी आफैंले गोल गरे।
तर, पहिलो हाफको अन्तिम मिनेट बाँकी रहँदा मोहम्मद राजोनले गोल गर्दै बंगालादेशलाई खेलमा फर्काए।
४८औं मिनेटमा साहिन मियाँले गोल गर्दै बंगलादेशलाई पुन: अग्रता दिलाए।
तर, खेलको ६१औं मिनेटमा भारतका सिंहले नै गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए। त्यसपछि निर्धारित समयमा गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो।
९२औं मिनेटमा हिमान्सु जान्ग्राले गोल गर्दै भारतलाई अग्रता दिलाए।
त्यसको एक मिनेट पछि नै सिंहले व्यक्तिगत तेस्रो तथा टोलीका लागि चौथो गोल गरे। ९९औं सिंहले व्यक्तिगत चौथो गोल गर्दै भारतलाई ५-२ को जित दिलाए।
जितसँगै भारतले लिग चरणमा व्यहोरेको हारको बदला लिएको छ। बंगलादेशले लिग चरणमा भारतलाई २-१ ले पराजित गरेको थियो। त्यसयता भारतले लगातार तीन जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।
बंगलादेश भने अन्तिम खेलमा नेपालसँग १-१ को बराबरीमा रोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।