काठमाडौं– एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा पक्राउ परेका दुई प्रहरीसहित ६ जनालाई अनुसन्धान गर्न ५ दिनको म्याद थप भएको छ।
जिल्ला अदालत काठमाडौंले अपहरण तथा शरीर बन्धकको कसुरमा अनुनसन्धान गर्न पहिलो पटकका लागि ५ दिनको म्याद दिएको हो।
चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले न्यायाधीशका पर्सनल सेक्युरेटी अफिसर (पिएसओ) हवल्दार गोरखाको आरुघाट गाउँपालिका–७ घर भइ काठमाडौं रानिबारी बस्दै आएका २७ वर्षीय कर्णबहादुर गुरुङ तथा प्रहरी वृत्त बालाजुमा कार्यरत रहेका घुमुवा प्रहरी बर्दियाको राजापुर नगरपालिका–१० घर भएका २८ वर्षीय शिव सुनारलाई पक्राउ गरेको थियो।
उनीहरुसँगै गोरखाको सिरानचोक–५ घर भइ काठमाडौं धापासी बस्दै आएका २८ वर्षीय लक्ष्मण गुरुङ, सर्लाहीको लालबन्दी नगरपालिका–११ घर भइ काठमाडौं मित्रनगर बस्ने २८ वर्षीय रोहित भनिने पूर्णबहादुर पुलामी मगर, प्यूठानको प्यूठान नगरपालिका–८ घर भइ मित्रनगर नै बस्ने २८ वर्षीय विशाल मगर तथा नुवाकोटको शिवपुर गाउँपालिका–६ घर भइ काठमाडौं बानियाँटार बस्ने २७ वर्षीय बिनोद केसी पनि पक्राउ परेका थिए।
यो समूहले काठमाडौं लाजिम्पाटबाट एक चिनियाँ नागरिकलाई अपहरण गरेर बन्धक बनाउँदै एक करोड रुपैयाँ फिरौती माग गरेको थियो । अपहरणमा परेका चिनियाँलाई बुधबार राति १० बजे प्रहरीले उद्दार गरेको थियो भने अपहरणमा संलग्न ६ जनालाई पक्राउ गरेको थियो।
अपहरणकारीबाट प्रहरीले ८ लाख १४ हजार ९ सय रुपैयाँ, २६ थान मोबाइल, अपहरणमा प्रयोग भएको नम्बर परिवर्तन गरिएको २०० सीसीको मोटरसाइकल, हत्कडी लगायत बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।