काठमाडौं– दुई प्रहरीको संलग्नतामा एक चिनियाँ नागरिकलाई अपहरण गरेर एक करोड असुल्न खोज्ने गिरोह पक्राउ परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको टोलीले दुई प्रहरीसहित ६ अपहरणकारीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा एक न्यायाधीशका पर्सनल सेक्युरेटी अफिसर (पिएसओ) हवल्दार गोरखाको आरुघाट गाउँपालिका–७ घर भइ काठमाडौं रानिबारी बस्दै आएका २७ वर्षीय कर्णबहादुर गुरुङ तथा प्रहरी वृत्त बालाजुमा कार्यरत रहेका घुमुवा प्रहरी बर्दियाको राजापुर नगरपालिका–१० घर भएका २८ वर्षीय शिव सुनार हुन्।
त्यसैगरी अन्य चार जनामा गोरखाको सिरानचोक–५ घर भइ काठमाडौं धापासी बस्दै आएका २८ वर्षीय लक्ष्मण गुरुङ, सर्लाहीको लालबन्दी नगरपालिका–११ घर भइ काठमाडौं मित्रनगर बस्ने २८ वर्षीय रोहित भनिने पूर्णबहादुर पुलामी मगर, प्यूठानको प्यूठान नगरपालिका–८ घर भइ मित्रनगर नै बस्ने २८ वर्षीय विशाल मगर तथा नुवाकोटको शिवपुर गाउँपालिका–६ घर भइ काठमाडौं बानियाँटार बस्ने २७ वर्षीय बिनोद केसी छन्।
उनीहरुले बुधबार साँझ ६ बजेको समयमा काठमाडौंको कपुरधाराबाट चिनियाँ नागरिकको दोभाषेको रुपमा काम गर्ने एक जना नेपालीलाई नियन्त्रणमा लिएका थिए। कपुरधारामा हिँडिरहेको बेलामा अपहरणकारीको समूहले दोभाषेको रुपमा काम गर्दै आएका ओखलढुंगा घर भइ बनस्थली बस्दै आएका २६ वर्षीय सूर्यबहादुर राईलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त दरबारमार्गका एक अधिकारीले नेपाल लाइभलाई जानकारी दिए।
‘नियन्त्रणमा लिइएका राईलाई नै धम्क्याउँदै चाइनिज खोई भन्दै चाइनिज रहेको ठाउँ देखाउन लगाएको पाइयो,’ ति अधिकारीले भने, ‘उनै राईले चाइनिज नागरिक बसेको ठाउँमा लगेर देखाइदिएका थिए।’
अपहरणकारीको नियन्त्रणमा रहेका राईले लाजिम्पाटमा बसेका चिनियाँ नागरिकलाई देखाइदिएका थिए। त्यसपछि चिनियाँ नागरिकलाईसमेत यो समूहले नियन्त्रणमा लिएको थियो।
चिनियाँ नागरिकको कोठाबाट नगद र मोबाइल लुटेर लगिएको भन्ने सूचना प्रहरीकोमा आएपछि प्रहरी परिचालन भएको थियो। चिनियाँलाई अपहरण गरेर लगेको समूहले अपहरणमा परेका चिनियाँ नागरिकका साथीलाई फोन गर्दै एक करोड रुपैयाँ फिरौती मागसमेत गरेका थिए।
फोन गर्दै ती व्यक्तिले एक करोड रुपैयाँ नदिए जे पनि हुनसक्ने भन्दै धम्की दिएका थिए। त्यसपछि ५० लाख रुपैयाँ दिने विषयमा अपहरणकारीसँग सहमति भएको थियो। ५० लाख रुपैयाँ लिनका लागि भनेर उनीहरुलाई गोंगबुस्थित बिजी मल अगाडिको लोकेशन दिइएको थियो।
सोही लोकेशन अनुसार अपहरकारीको समूहले रकम लिन भन्दै बिजी मल अगाडि पुगेको बेला अपहरणमा परेका चिनियाँ नागरिकसँगै गएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
चिनियाँ नागरिकको अपहरण गरेर यो समूहले काठमाडौं मित्रनगरस्थित न्यू स्वर्गद्वारी प्यूठान होटल एण्ड लजको १०४ र १०३ नम्बर कोठामा राखेको थियो। कोठामा बन्धक बनाइएको अवस्थामै चिनियाँ नागरिकको उद्धार गरिएको प्रहरीले जनाएको छ।
अपहरणकारीबाट प्रहरीले ८ लाख १४ हजार ९ सय रुपैयाँ, २६ थान मोबाइल, अपहरणमा प्रयोग भएको नम्बर परिवर्तन गरिएको २०० सीसीको मोटरसाइकल, हत्कडी लगायत बरामद गरेको छ।
यो समूहले सुरुमा पिएसओको पेस्तोल देखाएर तर्साउँदै दोभाषेलाई अपहरण गरेको थियो। उनैले चिनियाँ नागरिकलाई देखाइदिएपछि चिनियाँलाई पनि पेस्तोल ताक्दै धम्क्याउँदै अपहरण गरिएको अनुसन्धानबाट खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।