काठमाडौं– एक जना चिनियाँ नागरिकलाई अपहरण गरेको घटनामा पक्राउ पर्नेमध्ये एक जना पिएसओ (पर्सनल सेक्युरेटी अफिसर) रहेको खुलेको छ।
अपहरण आरोपमा पक्राउ परेका मध्ये एक जना बहालवाला न्यायाधीशका पिएसओ रहेको खुलेको हो। पिएसओ र न्यायाधीशको विवरण भने प्रहरीले खुलाएको छैन।
अपहरण आरोपमा ६ जना नेपाली पक्राउ परेका छन्। बुधबार राति चिनियाँ नागरिकलाई दरबारमार्ग क्षेत्रबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा ६ नेपालीलाई पक्राउ गरिएको हो।
अपहरण गरी बन्धक बनाइएका चिनियाँ नागरिकको उद्धार गर्नुका साथै संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
ती चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइलसमेत लुटिएको प्रहरीले दाबी गरेको छ। अपहरणमा परेका चिनियाँ नागरिकसँग एक करोड फिरौतीसमेत माग गरिएको बुझिएको प्रहरीले स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।