काठमाडौं– नेपाली गोलकिपिङ प्रशिक्षक मनिष तिम्सिनाले भारतको शीर्ष डिभिजनको आई–लिग क्लब गोकुलम केरलासँग सम्झौता नवीकरण गरेका छन्। मनिषले सन् २०२२–२३ सिजनका लागि गोकुलमसँगको सम्झौता नवीकरण गरेका हुन्।
पहिलोपटक भारतको आई–लिगमा प्रशिक्षक बनेसँगै मनिषले आफ्नो क्लबलाई २०२१–२२ को सिजनमा च्याम्पियन बनाउन सफल भएका थिए। यस्तै, गोकुलमले २०२०–२१ सिजनको आई–लिगसमेत जितेको थियो।
मनिष र क्लबबीचको अघिल्लो सम्झौता २०२२ को मे अन्तिमसम्मको लागि रहेको थियो। मनिषले एएफसी बी लाइसेन्स प्राप्त गरेका छन् भने ए लाइसेन्स कोर्षको नतिजा आउन बाँकी रहेको छ।
मनिषले २०१९ मा अखिल नेपाल फुटबल संघ (एन्फा) को युथ टोली, २०१८ को साफ च्याम्पियनसिपमा नेपालको यू– १५ टोली र २०२१ मा भएको विराट गोल्डकपमा मोरङ–११ लगायतको गोलकिपिङ प्रशिक्षकको रुपमा अनुभव बटुलेका छन्।
उनले २०१६ मा राष्ट्रिय खेलकुद प्रतियोगितामा मोरङको महिला टोलीलाई मुख्य प्रशिक्षकको रुपमा स्वर्णपदक दिलाएका थिए। मनिषले खेलाडीको रुपमा थ्री स्टार क्लब, रोनीपोखरी कर्नर टिम (आरसीटी), ब्रिगेड बोइज क्लब, हिमालयन शेर्पा क्लब, बाँसबारी क्लब, स्वयम्भू क्लब, भारतको उल्काय क्लब सिलिगुढी र सनराइज एथ्लेटिक क्लबबाट खेलिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।