काठमाडौं– सन् २०३० को फिफा विश्वकप आयोजना गर्नका लागि दक्षिण अमेरिकाका चार राष्ट्रले संयुक्त रुपमा दाबी पेस गरेका छन्।
अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले २०३० को विश्वकप आयोजना गर्नका लागि संयुक्त दाबी पेस गरेका हुन्। सन् १९३० मा विश्वकपको पहिलो संस्करण आयोजना गरेको उरुग्वे शताब्दी उत्सवको रुपमा विश्वकप आफ्नो भूमिमा फर्काउन चाहन्छ।
यसअघि स्पेन र पोर्चुगलले पनि संयुक्तरुपमा आयोजक बन्नका लागि प्रस्ताव गरिसकेका छन्। पहिलो संस्करणको विश्वकपको फाइनलमा अर्जेन्टिनालाई पराजित गर्दै उरुग्वेले उपाधि उचालेको थियो।
‘धेरै विश्वकप हुनेछन्, तर १०० वर्ष एक पटक मात्रै हुनेछ। त्यसैले यो घरमा फर्किनुपर्छ। यो महादेशकै सपना हो,’ दक्षिण अफ्रिकी फुटबल महासंघ (कन्मेबोल)का अध्यक्ष अलेजान्ड्रो डोमिनग्वेजले भनेका छन्।
चिलीले १९६२ मा र १९७८ मा अर्जेन्टिनाले विश्वकपको आयोजना गरेको थियो। २०२२ को विश्वकप कतारमा हुनेछ भने २०२६ मा क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त आयोजना गर्नेछन्।
फिफाले २०२४ मा २०३० को आयोजक चयन गर्ने योजना बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।