काठमाडाैं-एसियाली फुटबल महासंघ (एएफसी) ले फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को ढाँचा सार्वजनिक गरेको छ। एएफसीको कार्यकारी समितिको बैठकले एसियाका ४७ सदस्य राष्ट्रका लागि छनोटको ढाँचा सार्वजनिक गरेको हो।
अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने फिफा विश्वकप २०२६ मा ४८ टोलीबीच प्रतिस्पर्धा हुने तय छ। यता, एसियन कप २०२७ मा २४ टोलीबीच भिडन्त हुनेछ।
फिफा विश्वकप २०२६ मा एसियाका लागि ८ टोलीको कोटा छुट्टाइएको छ। यस्तै, एसियाका एक टोलीले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउनेछन्। प्लेअफ जिते २०२६ मा एसियाबाट ९ टोलीले विश्वकपमा भाग लिन सक्नेछन्।
हालको वरीयताअनुसार नेपालले पहिलो चरणकै छनोटमा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। एएफसी वरीयताका आधारमा नेपालले पहिलो चरणको छनोट खेल्नुपर्ने भएको हो। जसमा एसियाको २६औं वरीयतादेखिका टोलीले पहिलो चरणमा प्रतिस्पर्धा गर्नु पर्नेछ।
हाल नेपाल एसियाको वरीयतामा ४७ टिममध्ये ३७औं स्थानमा छ। पहिलो राउन्डमा २२ टोली सहभागी हुने छन्। जसमा एएफसीको वरीयतामा रहेका २६ देखि ४७ औं स्थानका टोली हुनेछन्। २२ टोलीमध्ये दुई-दुई टिम एकआपसमा भिड्नेछन्। ११ विजेता दोस्रो राउन्डमा पुग्नेछन्। एएफसीका अनुसार पहिलो राउन्ड अक्टोबर २०२३ मा हुनेछ।
दोस्रो राउन्डको समूह विजेता र उपविजेता गरी १८ टोली एसियन कप २०२७ मा स्वत: छनोट हुनेछन्। बाँकी ६ स्थानका लागि एसियन कप छनोट हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।