काठमाडौं– एएफसी महिला एसियन कप–२०२६ आयोजना गर्नका लागि मुस्लिम राष्ट्र साउदी अरेबियासहित ४ राष्ट्रले दाबी पेस गरेका छन्। एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले सोमबार महिला प्रतियोगिता आयोजनाका लागि ४ राष्ट्रको दाबी पेस गरेको जानकारी दिएको हो।
एएफसीका अनुसार प्रतियोगिता आयोजनाका लागि साउदी अरेबियासहित अस्ट्रेलिया, जोर्डन र उज्वेकिस्तानले दाबी पेस गरेका छन्। हालसालै साउदी अरेबियामा महिलाहरूलाई थप स्वतन्त्रता दिइए पनि उनीहरूका धेरै अधिकारहरू सीमित छन्। साउदीका महिलालाई २०१७ सम्म स्टेडियममा खेल खेल्न प्रतिबन्ध लगाइएको थियो।
अस्ट्रेलियाले पछिल्लोपटक सन् २००६ मा यो प्रतियोगिता आयोजना गरेको थियो। सन् २०१८ को संस्करण जोर्डनमा खेलिएको थियो। उज्वेकिस्तानले यसअघि प्रतियोगिता आयोजना गरेको थिएन।
सन् २०२२ मा भारतले आयोजना गरेको प्रतियोगिताको फाइनलमा दक्षिण कोरियालाई हराएर चीनले कीर्तिमानी (नवौं पटक) उपाधि जितेको थियो।
एएफसीले बोलपत्रको प्रक्रिया पूरा गरेर आगामी सन् २०२३ मा आयोजक राष्ट्र घोषणा गर्ने जानकारी दिएको छ। ‘सबै बिडिङ सदस्य संघहरूसँग बोलपत्र प्रक्रिया अनुसार आवश्यक कागजातको डेलिभरीमा काम गर्छौ। त्यसपछि सन् २०२३ मा निर्णयलाई अन्तिम रूप दिइनेछौं,’ एएफसीले भनेको छ।
सन् २०२६ को महिला एसिया कपमा १२ टोलीले सहभागिता जनाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।