काठमाडाैं-आयोजक नेपालले महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भुटानको सामना गर्ने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो प्रतिद्वन्द्वी भुटान पाएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा समूह 'बी' मा रहेको नेपालले भदौ २१ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ।
यस्तै, दोस्रो तथा समूह चरणको अन्तिम खेलमा नेपालले भदौ २८ गते श्रीलंकासँग खेल्नेछ।
भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने साफ फुटबलमा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ।
नेपाल सहज मानिएको 'बी' रहेको छ। नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ। यस्तै, समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छ।
समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।