काठमाडाैं-साफ यू-२० च्याम्पियन्सिपअन्तर्गत समूह चरणको खेलमा माल्दिभ्स र श्रीलंकाले बराबरी खेल्दै अंक बाँडेका छन्। भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको दिनकाे पहिलाे खेल १-१ को बराबरीमा सकिएको हो।
माल्दिभ्सले सुरुआती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिनु परेको हो। श्रीलंका तीन हारसँगै यसअघि नै बाहिरिएको थियो।
समूहका शीर्ष दुई टोली फाइनलमा पुग्ने प्रावधानअनुसार अन्तिम खेलअघि माल्दिभ्सले एक अंक मात्र जोड्न सक्यो।
माल्दिभ्स ३ खेलमा १ अंक जोड्दै चौथो स्थानमा तथा श्रीलंका ४ खेलमा १ अंकसहित पुछारमा छ। माल्दिभ्सले अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ।
आइतबार हुने दिनको दोस्रो खेलमा भारत र नेपाल भिड्नेछन्। नेपालले जित हासिल गरे फाइनलमा प्रवेश गर्नेछ। भारत पनि फाइनल पुग्ने सम्भावना बलियो पार्न जितको खोजीमा छ। खेल साँझ ७:१५ मा सुरु हुनेछ।
भारतको २ खेलमा ३ अंक छ। नेपाल २ खेलमा ६ अंकसाथ दोस्रो र बंगलादेश ३ खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा छ। अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।