काठमाडौं- साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आइतबार तेस्रो खेलमा साविक विजेता भारतको सामना गर्दैछ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले घरेलु टोली भारतको सामना गर्न लागेको हो। नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजेबाट सुरु हुनेछ।
भारतविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ। तर, यता, भारत नेपालविरूद्व जित निकाल्दै फाइनलमा स्थान बनाउने लक्ष्यमा हुने छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले भारतविरुद्धको खेलका लागि कुनै विशेष तयारी भने नगरेको बताए।
'सबै टिमलाई हामीले समान मानेका थियौं त्यही अनुसार नै हामी भारतविरुद्ध खेल्ने छौं,' उनले भने, 'उमेर समूहको लागि दक्षिण एसियाका सबै टिम बराबर नै छौं। केही तलमाथि मात्र नै छ जस्तो लाग्छ। खास फरक छैन। सकेको राम्रो खेल देखाउने हो र लक्ष्य जित नै रहनेछ।'
पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० र दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-० गोल हराएको थियोे।
नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। यदि भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ।
भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ। भारत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। भारत पहिलो खेलमा बंगलादेशसँग २-१ गोलले पराजित भएको थियोे। तर, दोस्रो खेलमा भने श्रीलंकालाई ४-० ले हराएको थियोे।
फाइनलमा स्थान बनाउन भारतलाई नेपालविरुद्धको खेल जित्नुपर्ने दबाब रहेको छ।
५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।