काठमाडौं– भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्री ४० वर्ष पुगे पनि उनी देशकै उत्कृष्ट खेलाडी हुन्। ‘फिटनेस’देखि ‘स्किल’सम्म सबै हिसाबले सुनिललाई देशकै उत्कृष्ट खेलाडी मान्न सकिन्छ। यसको प्रमाण उनी आफैंले पनि दिएका छन्।
सुनिलले आफ्ना जुनियर खेलाडीसँग एक भिडियो सेअर गरेका छन्। यसमा उनले पाँच दिनको ट्रेनिङपछि युवा खेलाडीले आफूसँग खेल्न नसकेको बताएका छन्। यससँगै उनले आफूलाई बूढो भनाउनेलाई पनि चेतावनी दिएका छन्।
सुनिलको यो भिडियोमा धेरै दिग्गज खेलाडीहरुले कमेन्ट गरेका छन्। भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहली पनि तीमध्ये एक हुन्। यो भिडियोमा कमेन्ट् गर्दै विराटले लेखेका छन्, ‘हाहा लेजेन्ड’। विराट र सुनिल एकदमै मिल्ने साथी हुन्। कोहली पनि सुनिलको ठूलो फ्यान हुन्। उनले सुनिललाई पटकपटक समर्थन गर्दै आएका छन्।
उक्त भिडियो सुनिलले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेअर गरेका हुन्। भिडियोमा सुनिलले आफू विगत एक महिनादेखि युरोपमा रहेको जानकारी दिएका छन्। युरोपमा रहँदा उनले सबै प्रकारका खानेकुरा खाइरहेको बताए। त्यसपछि उनले पाँच दिनसम्म ट्रेनिङ लिए र आफ्ना तीन जुनियर खेलाडीलाई टेस्टमा पराजित गरे।
सुनिलले भनेका छन्– यी तीन युवा खेलाडी ४० वर्षे वृद्धासँग पराजित भए। तीनैजना युवा खेलाडी करिब २० वर्षका थिए। सिनियर खेलाडी तथा भारतीय फुटबल टोलीका पूर्वकप्तान रेनेडी सिंहले पनि सुनिलको खुलेर प्रशंसा गरेका छन्।
रेनेडीले लेखेका छन्,‘सुनिल जतिबेला तिमी सानै थियौ तिमी यी खेलाडीहरूभन्दा पनि नराम्रो खेल्थ्यौ, यो कहिल्यै नबिर्स। तर, तिमी अहिले कति टाढा आइपुगेको छौ, आफैंलाई हेर। उनीहरुले तिमीबाट सिकिरहेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।