काठमाडौं– कम्युनिटी सिल्डको उपाधिका लागि आज शनिबार लिभरपुल र म्यानचेस्टर सिटी भिड्दैछन्। प्रिमियर लिग उपाधि विजेता सिटीले लिभरपुलसँग नयाँ सिजनको सुरुआत हुनुपूर्व कम्युनिटी सिल्डको उपाधिका लागि खेल्न लागेको हो।
दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १०:४५ बाट सुरु हुनेछ। यी दुबै टोली उपाधि जित्दै नयाँ सिजनको सुखद सुरुआत गर्ने योजनामा छन्। प्रिमियर लिग फुटबल अगस्ट ६ बाट सुरु हुँदैछ। लिग सुरु हुनुपूर्व दुवै टोलीलाई लिग उपाधि दावेदारीको रुपमा हेरिएको छ।
सिटीले लिभरपुलविरुद्धको खेलमा यसै सिजन भित्रिएका २२ वर्षीय एर्लिङ हाल्यान्डलाई मैदान उतार्ने छ। सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले पनि हाल्यान्ड कम्युनिटी सिल्डअन्तर्गत लिभरपुलविरुद्ध मैदान उत्रिन पूर्णरुपमा तयार रहेको बताएका छन्।
बोरुसिया डर्टमन्डबाट सिटीमा अनुबन्ध भएका हाल्यान्डले प्रि-सिजनमा मात्र ४० मिनेट खेलेका थिए। सामान्य चोट बोकेका हाल्यान्डको फिटनेसमा ग्वार्डिओलाले सावधानी अपनाइरहेका छन्। तर, उनी लिभरपुलसँगको खेलका लागि तयार रहेको ग्वार्डिओलाले जानकारी दिए।
‘हाल्यान्ड शनिबार हुने खेलका लागि तयार छन्। उनी टिमसँग घुलमिल भइसकेका छन्, उनले यसअघि नै राम्रो छाप बनाइसकेका थिए,’ ग्वार्डिओलाले भने, ‘हामी गत सिजनको सफलता दोहोर्याउन चाहन्छौं। यसका लागि हाल्यान्ड यो योजनाको मुख्य पात्र हुनेछन् ।’
डर्टमन्डबाट हाल्यान्डले सबै प्रतियोगिता गरेर ८९ खेलमा ८६ गोल गरेका थिए। प्रिमियर लिग विजेता र एफएकप विजेताबीच कम्युनिटी सिल्डका लागि प्रतिस्पर्धा हुने गर्दछ। सिजनको सुरुआतमा हुने यो फाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।