काठमाडाैं-बंगलादेश भारतको भुवनेश्वरमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै बंगलादेश लगातार तेस्रो जितसहित शीर्षस्थानमा पुगेको हो।
बंगलादेशलाई जित दिलाउन मिराजुल इस्लामले ह्याट्रिक पूरा गरे। यता, मोहमद राफिकुल इस्लामको नाममा एक गोल रह्यो। माल्दिभ्सका जेन जाफरले एक गोल फर्काए पनि हार टार्न सकेनन्।
खेलको १९औं मिनेटमा इस्लामको गोलमा बंगलादेशले अग्रता लियो। त्यसको २ मिनेटमै मिराजुलले व्यक्तिगत दोस्रो गोल गरे।
३२औं मिनेटमा इस्लामले गोल गर्दै बंगलादेशलाई ३-० ले अघि बढाए। ४२औं मिनेटमा मिराजुलले आफ्नो ह्याट्रिक पूरा गरे।
दोस्रो हाफको ५३औं मिनेटमा माल्दिभ्सले गोल गर्दै खेलमा फर्कने संकेत दियो। उसको लागि जेनले गोल गरे। त्यसपछि बंगलादेशले दबाब कायम गरे पनि गोल थप्न भने सकेन।
यस जितसँगै बंगलादेशले ३ खेलमा ९ अंक जाेडेकाे छ।बंगलादेश शीर्ष स्थानमा उक्लिएको छ।
पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो। यस्तै, दोस्रो खेलमा साविक विजेता भारतलाई २-१ गोल अन्तरले हराएको थियो।
माल्दिभ्सको यो दोस्रो हार हो। दोस्रो स्थानको नेपालको २ खेलमा ६ अंक छ। भारत २ खेलमा ३ अंकसाथ तेस्रो स्थानमा छ। पुछारमा रहेका माल्दिभ्स र श्रीलंकाले कुनै अंक जोडेका छैनन्। ३ खेल हारेको श्रीलंका समूह चरणबाट बाहिरिँदा माल्दिभ्सको सम्भावना अंक गणितमा जिवितै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।