काठमाडाैं-श्रीलंका भारतको भुवनेश्वरमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार सम्पन्न खेलमा आयोजक भारतसँग ४-० गोल अन्तरले पराजित भएसँगै श्रीलंका एक खेल बाँकी छदै प्रतियोगिताबाट बाहिरिएको हो।
साविक विजेतासमेत रहेको भारतलाई जित दिलाउन पार्थिवसुन्दर गोगोइले २ गोल गरे। हिमान्सु जान्ग्रा र गुर्किरात सिंहको नाममा १/१ गोल रह्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ४ गोल भएको थियो।
खेलको ५०औं मिनेटमा हिमान्सुले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। ६९औं मिनेटमा गोगोइले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए।
७४औं मिनेटमा गुर्किरातले गोल गर्दै भारत सहज जिततर्फ अग्रसर बन्यो।
त्यसपछि खेलको इन्जुरी समयमा गोगोइले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ४-० को सानदार जित दिलाए।
जितसँगै भारतले २ खेलमा ३ अंक जोडेको छ। पहिलो खेलमा भारत बंगलादेशसँग २-१ ले पराजित भएको थियो।
श्रीलंकाको यो लगातार तेस्रो हार हो। श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १-० र दोस्रो खेलमा नेपालसँग ३-० ले पराजित भएको थियोे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।