काठमाडाैं-पहिलो पटक कतारमा आयोजना हुन लागेको फिफा विश्वकप २०२२ मा भाग लिने ३२ टोली बसोबास गर्ने र उनीहरूले प्रशिक्षण गर्ने स्थान फिफाले सार्वजनिक गरेको छ।
२१ नोभेम्बरदेखि १८ सेप्टेम्बरसम्म आयोजना हुने विश्वकपका लागि इङ्ल्यान्डको टोलीले अल्कोहल–फ्री बिच रिसोर्ट छनोट गरेको छ। जर्मनी वेलनेस रिट्रिटमा बस्ने छ भने बेल्जियमको टिम वाटर पार्कमा हुनेछ।
प्रतियोगितामा सहभागी हरेक टिमलाई आवासका लागि विकल्प दिइएको थियो। सबैले राम्ररी निरीक्षण गरेर आफू बस्ने ठाउँको विकल्प छनोट गरिसकेका छन्।
इङ्ल्यान्ड, जर्मनी, बेल्जियम, पोर्चुगलजस्ता अधिकांश टोलीले राजधानी दोहा र नजिकैको स्थान छनोट गरेका छन्। ३२ मध्ये २४ टोलीले आफूनजिकै १० किलोमिटरको दूरीमा बसोबास गर्ने ठाउँ खोजेका छन्।
यसमध्ये इङ्ल्यान्ड दोहाभन्दा १० माइल दक्षिणमा पर्ने अल–वकराहस्थित अल–वकरा होटलमा बस्ने छ। यो पाँच तारे रिसोर्ट हो भने समुन्द्रनजिकै पर्छ।
इङ्ल्यान्डले यो ठाउँ यस कारण छनोट गरेको हो- उसको १० मध्ये ८ खेल यही हुँदैछ।
यसैगरी, वेल्सको टोली दोहाको डेल्टा होटल सिटी सेन्टरमा रहने छ। याे हाेटल अक्टुबरसम्म खुल्ने जनाइएको छ। यहाँ अन–साइट स्पा, स्विमिङ पुल, फिटनेस सेन्टर, स्पेनिस रेष्टुराँ हुनेछन्।
बेल्जियमको रिसोर्ट सबैभन्दा आकर्षक छ। हिल्टन सल्वा बिचमा भएको यो रिसोर्टमा थीम पार्क छ। यहाँ ५४ राइडर्स भएको वाटर एडभेन्चर पार्क, स्कुबा डाइभिङ र गो–कार्टिङ छ।
जर्मनी टोली बसोबास गर्ने जुलाल वेलनेस रिसोर्टमा थुप्रै हेल्थ ट्रिटमेन्ट उपलब्ध छन्। यसैगरी, डिफेन्डिङ च्याम्पियन फ्रान्स दोहाको अल–मेसिला होटलमा बसोबास गर्नेछ, जुन अरेबियन स्टाइलको डिजाइनका लागि चर्चित छ। यसको एक रातको भाडा मात्र डेढ लाख रुपैयाँ छ। यसमा ३० प्राइभेट पुल छन्।
ब्राजिलले वेस्टिन दोहा होटल छनोट गरेको छ। जुन हरेक रंगशालाभन्दा औसत १७ मिनेट ड्राइभमा पर्छ। यो सिटी सेन्टर होटलमा ४ वटा रेस्टुराँ, तीन स्विमिङ पुल र एउटा फिटनेस सेन्टर छन्। अर्जेन्टिना र स्पेनले कतार विश्वविद्यालयलाई आफ्नो बसोबास गर्ने विकल्पको रूपमा छनोट गरेका छन्। यसको वरिपरि प्रशिक्षण केन्द्र छन्। परिसरमा ५२ फुड र कफी बारको विकल्प छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।