काठमाडौं– एसियाली फुटबल महासंघ (एएफसी)बाट म्याच फिक्सिङ (खेल मिलेमतोमा खेल्नु) को आरोपमा आजीवन प्रतिबन्ध भोगिरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व उपकप्तान तथा डिफेन्डर सन्दीप राई प्रदेश १ को खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त भएका छन्।
एएफसीले सन्दीपसँगै पूर्वकप्तान सागर थापा, गोलकिपर रितेश थापा, पूर्वडिफेन्डर विकास सिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई प्रतिबन्ध लगाएको थियो।
सन्दीपसँगै मोरङका पूर्व फुटबलर प्रदिपकुमार भगतलाई समेत प्रदेश १ को खेलकुद विकास बोर्डको सदस्य नियुक्त गरिएको छ।
बोर्डका अध्यक्ष सामाजिक विकास मन्त्री राजन राईले प्रदेश खेलकुद ऐन २०७६ को दफा ३ को उपदफा २ को खण्ड (ङ) बमोजिम उनीहरुलाई सदस्य नियुक्त गरेका हुन्।
सन्दीपले नेपाली राष्ट्रिय टोलीबाट करिब एक दशक फुटबल खेलेका थिए। सन् २००३ मा यू–१४ राष्ट्रिय टोलीबाट खेलेका एन्फा एकाडेमीका उत्पादन सन्दीपले यू–१६, यू–१९ र यू–२३ बाट समेत खेले। उनले सन् २००८ बाट २०१५ सम्म नेपाली राष्ट्रिय टोलीबाट खेलेका थिए।
सन् २०१५ सम्म राष्ट्रिय टोलीमा रहेका सन्दीपले फिफाको आधिकारिक खेलमा ४९ क्याप जित्दै ३ गोल गरेका छन्। न्यूरोड टिम एनआरटीबाट २०६१ सालमा शहिद स्मारक ए लिगमा डेब्यू गरेका सन्दीपले मनाङ मर्स्याङ्दी र थ्रीस्टारबाट समेत खेलिसकेका छन्।
उनले भारतको दोश्रो डिभिजनको मोहम्मडन स्पोर्टिङ क्लबबाट समेत खेलेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।