काठमाडौं– शुक्रबार २ घन्टा कारोबार हुँदा सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। आज सेयर बजार परिसूचक (नेप्से) १२.९२ अंकले बढेर २१४०.३९ विन्दुमा पुगेको छ।
शुत्रबार सेयर बजारमा २ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको। आज २१६ कम्पनीको ५१ लाख ११ हजार ३१० कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ।
आज कारोबारमा आएको दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र रिलायन्स लाईफ इन्स्योरेन्स कमपनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
शुक्रबार सेयर कारोबार रोक्का रहेको रिलायन्स लाईफ इन्स्योरेन्स कमपनीको सेयर मूल्यमा सकारात्म सर्किट लागेको हो। सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जरमा गएको रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार शुक्रबार नेप्सेमा खुलेको छ ।
नेप्सेले मर्जरमा जान लागेर सम्झौता पत्रमा हस्ताक्षर गरेको कम्पनीको सेयर कारोबार रोक्का राख्ने गरेको छ। गत असार २९ गते दुई बिमा कम्पनीबीच मर्जरको सम्झौता भएदेखि नै नेप्सेमा दुवै कम्पनीको कारोबार रोक्का थियो। शुक्रबार कारोबार रोक्का रहेको कम्पनीमध्ये रिलायन्स लाइफ इन्स्योरेन्सको मात्रै कारोबार खुलेको देखिएको छ। सानिमा लाईफको भने कारोबार खुलेको छैन।
रिलायन्स लाईफको १६ वटा कारोबारमा २ लाख २४ हजार १२६ रुपैयाँ बराबरको ६१० कित्ता सेयर कारोबार भएको थियो। नेप्सेमा १२ बजे भन्दा अगाडि नै कम्पनीको कारोबार पुनः रोक्का भइसकेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कारोबार समयमा टप गेनरमा रिलायन्स लाईफको नाम देखेपछि मात्रै कारोबार भएको खुलासा भएको हो।
यसैगरी, आज कारोबारमा आएको १३ समूहमध्ये तीन समूहको सेयर मूल्य घटेको छ। बाँकी समूहको सेयर मूल्य बढेको नेप्सेले जानकारी दिएको छ। १२ करोड ८६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः लुम्बिनी विकास बैंक र नागरिक लगानी कोष रहेका छन्।
आज कारोबार भएको कम्पनीहरुमा सबैभन्दा धेरै सेयर मूल्य घट्नेमा बुद्धभूमि नेपाल हाईड्रो पावर कम्पनी र जोसी हाईड्रो पावर कम्पनी रहेका छन्। यी कम्पनीको सेयर मूल्य क्रमशः ३.४८ प्रतिशत र २.५६ प्रतिशतले घटेको नेप्सेले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।