काठमाडौं– इक्वेडरले कतार विश्वकप–२०२२ छनोटमा गैरनागरिक खेलाडी खेलाएको भन्दै कारबाही गर्न चिलीले पुन: अपिल गरेको छ।
चिलीले यसअघि पनि इक्वेडरले विश्वकप छनोटमा गैरनागरिक खेलाडी खेलाएको भन्दै छनोट चरणका खेलहरु रद्द गर्नुपर्ने माग राख्दै फुटबलको सर्वोच्च निकाय फिफासमक्ष अपिल गरेको थियो। जसलाई गत महिना फिफाले खारेज गर्दै इक्वेडरलाई विश्वकप खेल्ने बाटो खुला गरेको थियो।
चिलीले इक्डेवरका रक्षक बेरोन कास्टिलो गैरनागरिक खेलाडी भएको दाबी गर्दै आएको छ। चिली फुटबल संघ (एएनपीएफ)ले कास्टिलो इक्वेडरमा नभइ कोलम्बियाली नागरिक रहेको दाबी गरेको छ।
एएनपीएफका अनुसार कास्टिलोको जन्म सन् १९९८ मा इक्वेडरको जनरल भिल्लामिल प्लेसमा नभइ सन् १९९५ मा कोलम्बियाको टुमाकोमा भएको आधिकारिक कागजातमा उल्लेख भएको प्रमाण छ।
एएनपीएफका महासचिव जर्ज युङ्गेले एक विज्ञप्तिमा भने,‘हामी हाम्रो अनुसन्धानको निष्कर्षमा पूर्ण रूपमा ढुक्क छौं। खेलाडीले कागजातमा कीर्ते गरेका छन्।’
कास्टिलाले इक्वेडरबाट विश्वकप छनोटको ८ खेल खेलका थिए। उनले चिलीविरुद्ध २–० को जित निकालेको खेल र गोलरहित बराबरीमा रोकिएको खेल खेलेका थिए।
सातौं स्थानमा रहेसँगै चिलीले भने विश्वकप छनोटको प्लेअफमा प्रतिस्पर्धा गर्नबाट चुकेको थियो। चिलीले छनोटमा १९ अंक बनाएको थियो। यता, इक्वेडर चौथो स्थानमा रह्यो। पेरु पाँचौं स्थानमा रह्यो, तर अष्ट्रेलियासँग प्लेअफमा पराजित भएपछि फाइनलमा पुग्न सकेको थिएन।
इक्वेडर कतार विश्वकप २०२२ को समूह ‘ए’ मा छ। इक्वेडरले समूह चरणमा आयोजक कतार, सेनेगल र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।