काठमाडौं– युभेन्ट्सका फ्रेन्च मिडफिल्डर पाउल पोग्वा घाइते भएका छन्। कतार विश्वकप २०२२ नजिकिँदै गर्दा उनी घाइते भएका हुन्।
घाइते भएका उनले युभेन्ट्सको प्रि–सिजन गुमाएका थिए। अप्रेशन गर्नुपर्ने भएपछि उनी २०२२ भरी खेल्न नसक्ने इटालिका समाचारमाध्यमहरुले जनाएका छन्।
२९ वर्षीय पोग्वा हालै प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छोडेर उनको पूर्व इटालियन क्लब युभेन्ट्स भित्रिएका थिए।
पोग्वाको दाहिने घुँडामा चोट लागेको बताइएको छ। ला गाजेटा डेलो स्पोर्ट्सले पोग्वा २०२२ मा खेल्न नसक्ने रिपोर्ट प्रकाशित गरेको छ। तर, युभेन्ट्सले भने पोग्वाको चोटको पूरा जाँचपछि मात्र कति समयमा ठिक हुन्छ भन्ने बताउने सकिने जानकारी दिएको छ।
पोग्वाको घाइते भएपछि युभेन्ट्सलाई समेत संकटमा पारेको छ। उनी लामो समयसम्म खेल्न नसक्ने भएपछि उनको विकल्पमा कसलाई खेलाउने भन्नेबारे सोच्नुपर्ने भएको छ। साथै नोभेम्बर–डिसेम्बरमा हुने विश्वकपसम्म पोग्वा ठिक नभए विश्वकप विजेता फ्रान्सका लागि पनि अप्ठ्यारो पर्न सक्ने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।