काठमाडौं– ८ सिजन जर्मन क्लब बायर्न म्युनिखमा बिताएका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की अमेरिकामा क्याटलान क्लब बार्सिलोनाको प्रशिक्षणमा जोडिए। लगत्त उनले ‘लस भेगास एल क्लासिको’मा स्पेनिस प्रतिद्वन्द्वी रियल मड्रिडविरुद्ध डेब्यू गरे।
३३ वर्षीय लेवान्डोस्कीको आगमनले बार्सिलोनाको उपाधिको सम्भावना बढेको छ। लेवान्डोस्की आफैंले पनि बार्सिलोनालाई उपाधि दिलाउने बताइसकेका छन्।
बार्सिलोनाको खेलाडीको रूपमा मिडियासँगको कुराकानीमा लेवान्डोस्कीले बार्सिलोनाको स्वर्णिम युगलाई फिर्ता ल्याउन हरसम्भव मेहनत गर्ने बताएका छन्।
‘बार्सिलोनाबाट खेल्नुहुन्छ भने सधैं उपाधि जित्नेबारे सोच्नुहुन्छ। तर, यसका लागि चरणवद्ध रूपमा अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘हामी गन्तव्यमा पुग्न लड्न सक्नुपर्छ। यो सिजन अघिल्लो सिजनभन्दा पक्कै फरक र राम्रो हुनेछ।’
च्याम्पियन्स लिगमा बार्सिलोनालाई ८–२ ले पराजित गर्दा बायर्नको महत्त्वपूर्ण हिस्सा बनेका लेवान्डोस्कीले आफ्ना नयाँ टोलीका साथीहरुसँग यसबारे कुरा नगरेको बताएका छन्।
‘हामीले यसको बारेमा बोलेका छैनौं,’ उनले भने,‘यो विगत हो। पछाडि हेर्नु राम्रो होइन। यो हाम्रो सोच्ने तरिका हो।’
लेवान्डोस्कीले आफ्नो नयाँ परिवेशमा अभ्यस्त बनाउन टोलीका साथीहरु अत्यन्तै सहयोगी भएको र सकेसम्म धेरै गोल गर्ने आशा राखेको बताए।
‘पहिलो दिनदेखि नै मैले निकै राम्रो साथ र सहयोग पाइरहेको छु। म आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछु। कति स्कोर गर्न सक्छु भन्ने आँकडा कहिल्यै भन्न सक्दिनँ,’ उनले भने, ‘मेरो दिमागमा खेल जित्ने र गोल गर्ने कुरा हुन्छ। यसले खेल वा विपक्षीलाई फरक पार्दैन। म सधैं जित्नको लागि भोको छु। यो टोलीमा ठूलो क्षमता छ। हामी सबै मिलेर अघि बढ्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।