काठमाडौं- पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो अहिले नयाँ क्लबको खोजीमा छन्। उनले इङ्ल्यान्डको क्लब म्यानचेस्टर युनाइटेड छोड्ने मनस्थिति बनाइसकेका छन्।
सञ्चारमाध्यममा रोनाल्डोका एजेन्टहरू नयाँ क्लबको खोजीमा रहेको चर्चा छ। उनी जर्मन क्लब बायर्न म्युनिखमा आबद्ध हुन सक्ने भनिएको थियो। तर, उनको आशा निराशामा परिणत भएको छ।
बायर्नले रोनाल्डोसँगको सम्झौताबारे विचार नगरेको स्पष्ट पारेको छ। क्लबले रोनालन्डो आफ्नो लागि उपयुक्त नभएको जनाएको छ। बायर्नका सीईओ ओलिभर कानले रोनाल्डोलाई ट्रान्सफर मार्केटमा ल्याउनु क्लबको सिद्धान्त अनुरूप नहुने बताए।
कानले जर्मन अखबार बिल्डलाई भने, ‘हामीले यस विषयमा छलफल गर्यौं, अन्यथा हामीले आफ्नो काम राम्ररी गर्न सक्ने थिएनौं। व्यक्तिगत रूपमा मलाई लाग्छ क्रिस्टियानो रोनाल्डो सबै समयका महान् फुटबलरहरूमध्ये एक हुन्। तर, हामी यो कुरालाई वास्ता गर्दैनौं। उनी अहिले हाम्रो टोलीमा फिट नहुने निष्कर्षमा पुगिसक्यौं।’
रोनाल्डो मंगलबार (२६ जुलाई) युनाइटेडको प्रशिक्षण केन्द्र पुगेका थिए। उनीसँगै उनका एजेन्ट पनि थिए। उनले क्लबका नयाँ सहकर्मी क्रिस्टियन एरिक्सन र लिसान्ड्रो मार्टिनेज लगायतसँग भेट गरेका थिए।
रोनाल्डोले प्रशिक्षक एरिक टेन ह्यागसँग पछिल्लो थाइल्यान्ड र अस्ट्रेलिया भ्रमणको बारेमा छलफल गरेका थिए। त्यही क्रममा लामो समयसम्म क्लबका मुख्य प्रशिक्षक रहेका एलेक्स फर्गुसन पनि प्रशिक्षण केन्द्र पुगेका थिए। यस क्रममा रोनाल्डोको भविष्यका बारेमा चर्चा भएको थियो।
उनी लामो समयपछि गत वर्ष क्लबमा फर्किएका थिए। फर्गुसन र रोनाल्डोबीच राम्रो सम्बन्ध छ। रोनाल्डोलाई क्लबमा फर्काउनुमा फर्गुसनको ठूलो हात छ।
एट्लेटिको पनि पछि हट्यो
स्पेनिस क्लब एट्लेटिको मड्रिड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्धन गर्ने चर्चाबाट पछि हटेको छ। स्पेनिस महारथी क्लब एट्लेटिकोले आफू रोनाल्डो अनुबन्धन गर्ने दौडमा नरहेको प्रस्ट पारेको छ।
क्लबका अध्यक्ष एनरिके सेरेजोले व्यवहारिक रुपमा रोनाल्डोलाई अनुबन्धन गर्न नसकिने बताए। उनले क्लबले रोनाल्डोलाई धान्न नसक्ने बताए। प्रि–सिजन टूरलाई गुमाएका रोनाल्डो यसै हप्ता युनाइटेड फर्किएका छन्। रोनाल्डोका एजेन्ट जर्ज मेन्डिस रोनाल्डोलाई युनाइटेडभन्दा बाहिर लैजान चाहन्छन्।
यसअघि चेल्सीले रोनाल्डोलाई अनुबन्धन गर्न नसकिने प्रस्ट पारिसके छ। त्यसपछि रोनाल्डोको सम्भावित गन्तव्यको रुपमा एट्लेटिको जोडिएको थियो।
स्पेनिस रेडियोसँग कुरा गर्दै एट्लेटिको अध्यक्ष सेरेजोले भने, ‘मलाई थाहा छैन, कसले रोनाल्डो र एट्लेटिकोको कथा बनाएको छ। यो सत्य हैन। यो व्यवहारिक रुपमा पनि सम्भव छैन।’
युनाइटेडले पनि रोनाल्डो बिक्रीमा नभएको बारम्बार बताउँदै आएको छ। रोनाल्डोको हप्ताको ३ लाख ६० हजार पाउन्डको सम्झौता अझै एक वर्ष बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।