काठमाडौं- इराकमा राजनीतिक संकट चुलिरहँदा प्रदर्शनकारीहरुले संसद् भवन कब्जा गरेका छन्। राजधानी बग्दादमा प्रदर्शनकारीहरूले संसद् भवन कब्जा गरेका हुन्।
उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका हुन्। संसद् भवन प्रवेश गर्न खोजेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको थियो। तर ठूलो संख्यामा रहेका प्रदर्शनकारी संसद् भवनमा प्रवेश गरे।
प्रदर्शनकारीहरू प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित नभएको बीबीसीले जनाएको छ। संसद् भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै टेबलहरूमा सुतेका तस्बिरहरु सार्वजनिक भएका छन्।
इराकका प्रधानमन्त्री मुस्तफा अल-खादिमीले प्रदर्शनकारीहरूलाई संसद् भवन छोड्न भनेका छन्।
गत अक्टोबरमा सम्पन्न आम निर्वाचनमा धर्मगुरु मुक्तदा अल-सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन।
नौ महिना लामो गतिरोधपछि इरानमा अशान्ति सुरु भएको हो। सदरका समर्थकहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन्। त्यहाँ देशका विभिन्न राजनीतिक समूहहरूबीचको विवादका कारण निर्वाचनपछि नयाँ सरकार गठन हुन सकेको छैन।
इराकमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएका शिया धर्मगुरु सदरको दलले अक्टोबरको निर्वाचनमा जीत दाबी गरेको थियो। तर आफ्ना प्रतिद्वन्द्वीसँग सहकार्य गर्न सदर तयार नभएपछि उनको दलले सरकार निर्माणका लागि गठबन्धन बनाउन सकेन।
अहिले प्रधानमन्त्रीमा उम्मेदवारी दिएका मोहम्मद अल सुदानीको बिरोधमा सर्वसाधारण र सदरको पार्टी रहेको छ।
धर्मगुरु मुक्तदा अल-सदरका समर्थकहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।