काठमाडाैं-नेपालले भारतमा जारी साफ यू–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा बुधबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३–० गोलले पराजित गरेको हो।
नेपालका लागि कप्तान आयुष घलान, कृतिशरत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे। पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले तीनै गोल दोस्रो हाफमा गरेको हो।
खेलको ५९औं मिनेटमा अभिषेक वाइबाको क्रसलाई गोलरक्षकले पन्च गरेपछि आएको बललाई आयुषले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए।
६५औं मिनेटमा कृतिशले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए। आयुषले पेनाल्टी क्षेत्रभित्रबाट दिएको पासमा कृतिशले पेनाल्टी क्षेत्रको ठीक बाहिरबाट पहिलो टचमै टप कर्नरमा गोल गरेका थिए।
त्यसपछि ८४औं मिनेटमा सुगम सुवालको पासमा मनग्यले गोल गर्दै नेपाललाई ३-० को जित दिलाए। मनग्यले पेनाल्टी क्षेत्रभित्रबाट सहजै गोल गरेका थिए।
पहिलो खेलमा भारतको हार
त्यसअघि भुवनेश्वरको कालिंगा रंगशालामै बुधबार भएको खेलमा बंगलादेशले भारतलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको थियो।
बंगलादेशलाई जित दिलाउन मोहम्मद अहमत नोभाले २ गोल गरेका थिए। भारतका लागि हिमान्शु झांग्राले गोल गरे।
खेलको २९औं मिनेटमा नोभाले पहिलो गोल गरेका थिए। उनले गोलरक्षक र डिफेन्सको समन्वयको कमजोरीको फाइदा उठाउँदै अग्रता दिलाएका थिए।
तर, ३५औं मिनेटमा भारत खेलमा फर्कियो। परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको हिमान्शुले बराबरी गोल गरेका थिए।
पहिलो हाफको इन्जुरी समयमा नोभाले अर्को गोल गर्दै बंगलादेशको जित सुनिश्चित गरे।
पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो। नेपालले भने पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराएको थियो।
जितसँगै नेपालको २ खेलबाट ६ अंक भएको छ। दोस्रो स्थानको बंगलादेशको पनि ६ अंक रहेको छ। गोलअन्तरमा नेपालले बंगलादेशलाई पछि पारेको हो।
भारत, माल्दिभ्स र श्रीलंकाले भने अंकको खाता खोलेका छैनन्। लिग चरणपछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। नेपालले अब ३१ जुलाईमा भारतको सामना गर्नेछ। फाइनल ५ अगस्टमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।