काठमाडौं- उरुग्वेका फरवार्ड लुइस सुआरेज १६ वर्षपछि आफ्नो पूर्वक्लब फर्कने भएका छन्। सुआरेज आफ्नो पहिलो क्लब नासियोनलमा पुनः आबद्ध हुने प्रारम्भिक सम्झौता गरेका छन्।
यद्यपि, आधिकारिक सम्झौता हुन बाँकी छ। क्लबले केही दिनमा नै उनलाई सार्वजनिक गर्ने योजना बनाएको छ।
स्पेनिस क्लब एट्लेटिको मड्रिडसँगको सम्झौता सकिए पछि ३५ वर्षीय सुआरेज फ्रि एजेन्ट बनेका थिए। सामाजिक सञ्जालको एक भिडियोमा उनले नासियोनलसँग चाँडै सहमतिमा पुग्ने आशा गरेका छन्।
सुआरेज करिब २० हजार समर्थक माँझ नासियोनलमा जोडिएको भिडिओ सार्वजनिक भएको छ। सुआरेजले सन् २००५ मा १८ वर्षको उमेरमा नासियोनलबाट व्यावसायिक डेब्यू गरेका थिए। त्यसपछि उनी ग्रोनिन्जेनमा आबद्ध भएका थिए।
ग्रोनिन्जेनमा एक सिजन बिताएपछि उनी डच क्लब आयाक्स पुगेका थिए। आयाक्समा साँढे तीन सिजन बिताएका उनले डच लिग र डच कपको उपाधि उचालेका थिए। त्यसपछि उनी इंग्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका थिए। लिभरपुलमा पनि साँढे तीन सिजनको बसाइँमा उनले फुटबल लिग कप जितेका थिए।
सुआरेज २०१४–१५ को सिजनमा क्याटलान क्लब बार्सिलोनामा अनुबन्ध भएका थिए। बार्सिलोनाबाट चारपटक स्पेनिस ला लिगा, चारपटक कोपा डेल रे, दुईपटक सुपर कोपा, एक पटक च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप र सुपर कप जितेका छन्।
बार्सिलोनामा ६ सिजन बिताएका उनी २०२०–२१ को सिजनमा स्पेनिस क्लब एट्लेटिको पुगेका थिए। एट्लेटिकोमा दुई सिजन बिताएपछि उनी फ्रि एजेन्ट बनेका थिए।
एट्लेटिकोबाट एक पटक ला लिगा जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।