काठमाडौं– नेपालले साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबलमा आज बुधबार दोस्रो खेल खेल्दैछ।
नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७:१५ बजेबाट सुरु हुनेछ।
नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ। सोमबार भएको उद्घाटन खेलमा नेपालले प्रतियोगिताकै कमजोर मानिएको माल्दिभ्सलाई ४–० गोल अन्तरले हराउँदै विजयी सुरुआत गरेको थियो।
तर, यता, आर्थिक संकटमा गिजोलिएको श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो।
च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ।
नेपालले श्रीलंकापछि तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ।
शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।