काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसूर मुद्दामा एक महिलालाई पक्राउ गरेको छ। कास्कीको पोखरा महानगरपालिका–१७ घर भइ हाल काठमाडौं– १३ बाफल बस्ने ४२ वर्षीया निशा गुरुङलाई मंगलबार पक्राउ गरिएको हो।
उच्च अदालत पाटनको २०७९ बैशाख १३ गतेको फैसलाले ५ दिन कैद र २३ लाख १४ हजार २ सय ५० रुपैयाँ जरिवाना ठहर भइ फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले टोखा नगरपालिका–६ टोखाबाट पक्राउ गरेको हो।
गुरुङले कुमारी बैंक लिमिटेड दरबारमार्ग शाखा कार्यालय काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी पीडितलाई रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।