काठमाडौं– गृहमन्त्रालयले सिंहदरबार क्षेत्रको सीसीटीभी व्यवस्थापन सहरी विकास मन्त्रालय अन्तर्गत केन्द्रीय सचिवालयले गर्ने प्रष्टीकरण दिएको छ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको प्रकरणमा संसदीय छानबिन समितिलाई सिंहदरबार गेटको सीसीटीभी फुटेज मेटिइसकेको जवाफ दिएको गृहले मंगलबार साँझ उक्त क्षेत्र आफ्नो मन्त्रालय मातहतमा नपर्ने बताएको छ।
दिउँसो मात्रै गृहले छानबिन समितिलाई १६ दिनसम्मको मात्र सीसीटीभी फुटेज रहने र बाँकी मेटिइसकेको जवाफ दिएको थियो। तर साँझ भने उक्त क्षेत्रको सीसीटीभी व्यवस्थापन सहरी विकास मन्त्रालय मातहतको केन्द्रीय सचिवालयले गर्ने प्रष्टीकरण दिएको छ।
साथै सिंहदरबारभित्रको सीसीटीभी निरीक्षण/अनुमगन नेपाल प्रहरीको सिंहदरबारभित्र रहको 'सिंहदरबार सुरक्षा गण'ले गर्ने पनि जानकारी दिएको छ। यस्तै गृहले मंगलबार नै आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई निर्देशन दिएको छ।
गृहसचिव स्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलबार तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन भएको हो। मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटीभी फुटेज सुरक्षित रहने पनि स्पष्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।