काठमाडौं– ‘ए’ डिभिजन क्लब थ्री स्टारका प्रशिक्षक उर्जन श्रेष्ठ यू–१७ फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक श्रेष्ठलाई यू–१७ टोलीको जिम्मेवारी दिएको हो।
श्रेष्ठले सन् २०१६ मा एएफसी ‘ए’ लाइसेन्स प्राप्त गरेका थिए। एन्फा अन्तर्गतको एन्फा एकेडेमीमा हाल कुनै खेलाडी नरहेकाले यू–१७ टोली खुला छनोटमार्फत् भइरहेको छ। खुला छनोट मंगलबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सुरु भएको हो।
हाल श्रेष्ठ थ्री स्टारको प्रशिक्षक रहेका छन्। उनले यसअघि ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई ‘बी’ डिभिजनबाट ‘ए’ डिभिजनमा उकालेका थिए। त्यसअघि उनले च्यासललाई ‘सी’ डिभिजनमा प्रशिक्षण दिएका थिए।
श्रेष्ठले सहिद स्मारक ‘ए’ डिभिजन लिगको पनि जिम्मेवारी सम्हालेका थिए। तर, लिगमा उनको प्रशिक्षणमा थ्री स्टारले सोचेअनुरुपमा प्रदर्शन गर्न सकेनन्। श्रीलंकामा आयोजना हुने साफ यू–१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ।
यस्तै, भियतनाममा हुने यू-१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।