काठमाडौं– प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रका तीन सांसदले प्रधान सेनापति प्रभुराम शर्मा अष्ट्रेलियामा सहभागी कार्यक्रम अमेरिकाको आइपीएससँग जोडिएकोले उक्त भ्रमणलाई रोक्न माग गरेका छन्।
यद्यपी प्रधान सेनापति शर्मा ७ गते नै अष्ट्रेलिया प्रस्थान गरिसकेका छन्। सिड्नीको कार्यक्रममा सहभागिता जनाउँदै गरेका शर्माको मंगलबार नेपालको संसद्मा चर्चा तथा उक्त कार्यक्रममा सहभागितालाई लिएर सांसदहरूले आपत्ति जनाएका छन्।
प्रतिनिधिसभामा बोल्ने क्रममा माओवादी केन्द्रकी सांसद अन्जना विशंखेले प्रधान सेनापतिको उक्त कार्यक्रमका लागि तय भएको भ्रमणलाई रोक्न माग गरिन्।
उनले भनिन्,‘आइपीएसको अन्तराष्ट्रिय सम्मेलन अष्ट्रेलियाको सिड्नीमा सुरु भइरहेको छ। नेपाल आइपीएसको अंग हैन भनेर संसद्बाट पारित गराइएको थियो। यो निर्णयलाई लत्याएर सरकारले प्रधान सेनापतिलाई उक्त सम्मेलनमा कुन हैसियतले सहभागिता जनाउन पठायो?’
उनले यसको लागि सरकारसँग जवाफको माग पनि गरेकी छन्। ‘यसको जवाफ सभामुखमार्फत सरकारसँग माग गर्दछु। नेपाल असंग्लन परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त अनुसार निरन्तर अघि बढिरहेको देश हो,’ सांसद विशंखेले भनिन्,‘यो नीतिलाई बेवास्ता गरियो भने नेपालको राष्ट्रियता खतरामा पर्ने छ।’
त्यस्तै माओवादी केन्द्रकै सांसद अमृता थापाले पनि भूराजनीतिक संवेदनशीलताका बेला प्रधान सेनापतिको उक्त कार्यक्रमको सहभागिता नेपालको परराष्ट्र नीतिविरुद्ध हुने बताइन्।
‘हाम्रो देशको भूराजनीतिक संवेदनशीलता र राष्ट्रियताको विषयमा नेपालीका लागि सर्वथा चासोको विषय हो। वर्तमान अन्तर्राष्ट्रिय परिवेशमा यो विषय पेचीलो बनिरहेको हामीले महशुस गरेका छौं,’ थापाले भनिन्, ‘एसपीपीलाई अस्विकार गर्ने विषयलाई सर्वत्र स्वागत भइरहेका बेला अष्ट्रेलियाको ‘एनयोल चिफ अफ डिफेन्स’ मा सहभागी हुन प्रधान सेनापतिको भ्रमणलाई मन्त्रिपरिषद्बाट स्विकृत भएर जान लागेको कुरा साँच हो भने गम्भीर विषय हो। संचारमाध्यमका अनुसार उक्त सम्मेलन रुस, चिन र उत्तर कोरियाकाविरुद्ध सुरु गरिएको हिन्द प्रशान्त रणनीति अनुसार हो भने हाम्रो परम्परागत विदेश नीतिविरुद्ध हुने हुँदा उक्त कुरा सच्याउन सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँछु।’
त्यस्तै माओवादी केन्द्रकै सांसद चाँततारा कुमारीले पनि प्रधान सेनापतिको अष्ट्रेलिया भ्रमणलाई गम्भीर भन्दै आपत्ति जनएकी छन्। ‘नेपाल दुई ठूला र आणविक हतियार भएका मुलुकका बीचमा भएकोले खतरापूर्ण अवस्थामा छ। संयुक्त राष्ट्रसंघको सदस्यको हैसियतले एउटा शान्तिपूर्ण मुलुकको रुपमा रहेको छ,’ उनले भनिन्, ‘प्रधान सेनापति सिड्नी भ्रमणमा जानुभएको छ। त्यसमा गम्भीर आपत्ति जनाउँछु र त्यसलाई रोक्न माग गर्दछु।’
किन गए प्रधान सेनापति अष्ट्रेलिया?
नेपाली सेनाले साउन ६ गते जारी एक विज्ञप्तिमा प्रधान सेनापति प्रभुराम शर्माको अष्ट्रेलिया भ्रमण र त्यहाँ हुने कार्यक्रमको बारेमा उल्लेख गरेको छ। सेनाको विज्ञप्तिमा असार ३१ को मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत भए अनुसार प्रधान सेनापति शर्मा अष्ट्रेलियाको सिड्नीमा साउन ९ गते देखि ११ गतेसम्म ‘एनयुल चिफ अफ डिफेन्स कन्फेरेन्स २०२२’ कार्यक्रममा सहभागी हुने बताएको छ। त्यसका लागि शर्मा साउन ७ गते नै अष्ट्रेलिया प्रस्थान गरिसकेका छन्।
अष्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा युएस इन्डो पेसिफीक कमान्डद्वारा उक्त कार्यक्रम आयोजना भएको सेनाको विज्ञप्तिमा उल्लेख छ। सेनाका अनुसार यो कन्फेरेन्समा नेपाली सेना विस २०५६ बाट निरन्तर सहभागी हुँदै आएको बताएको छ।
उक्त कार्यक्रममा एशिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रको सेना प्रमुखहरूको उपस्थितमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षहरूलाई समेटी विविध सुरक्षाका विषयहरूमा छलफल, अन्तरक्रिया तथा विचार आदनप्रदान हुने सेनाले जनाएको छ।
त्यस्तै उक्त विज्ञप्तिमा यस किसिमको कार्यक्रमले सैनिक कुटनीतिमार्फत् नेपालको परराष्ट्र नीतिलाईसमेत सकारात्मक योगदान पुग्ने सेनाले विश्वास गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।